सन् १९५९ को मे २६ तारिख । पश्चिम जर्मनीको म्युनिखमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को ५५ औँ सभाले सन् १९६४ मा १८ औँ गीष्मकालीन ओलम्पिक आयोजनाको निर्णय गर्यो, जापानको टोकियो शहरमा ।
जापानले दोस्रो विश्व युद्धपछि ओलम्पिक आयोजना गर्ने भयो । एसियाली मुलुकमा आयोजना हुने यो पहिलो ओलम्पिकसमेत थियो । त्यसैले जापान चाहन्थ्यो एसियाका अन्य मुलुक जस्तै नेपालले पनि टोकियो ओलम्पिकमा भाग लिओस् । नेपालले त्यतिबेलासम्म आइओसीको सदस्यता ग्रहण गरिसकेको थिएन । यद्यपि नेपालले तीन वटा एसियाड भने खेलिसकेको थियो । त्यसैले जापानी सरकारको प्रस्ताव पुग्यो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव सुशीलशमशेर राणामार्फत राजा महेन्द्रलाई ।
महेन्द्र पहिलेदेखि नै खेलकुदप्रति सकारात्मक थिए । उनले ‘ओके’ भने छन् । यसपछि सुरु भयो नेपालको ओलम्पिक सहभागिताको कथा ।
ओलम्पिकमा भाग लिनुअघि आइओसीको सदस्य बन्नु नेपालको बाध्यता थियो । त्यसका लागि पहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) गठन गर्नुपर्ने अर्को आवश्यकता आइप¥यो । त्यसपछि ओलम्पिकमा सम्बद्ध पाँच सङ्घले अनिवार्य अन्तर्राष्ट्रिय आबद्धता लिनुपर्ने अवस्था थियो ।
त्यतिबेला राखेपका अध्यक्ष थिए तत्कालीन अधिराजकुमार (राजा महेन्द्रका भाइ) वसुन्धरा । सुशीलले जुक्ति निकाले– वसुन्धरालाई नै नेपाल ओलम्पिक कमिटीको अध्यक्ष किन नबनाउने ?
नभन्दै सुशीलले फुटबल, बक्सिङ, एथलेटिक्स, ब्याडमिन्टन र टेबल टेनिस जस्ता पाँच खेल समावेश गर्दै वसुन्धराको अध्यक्षतामा सन् १९६३ मा एनओसीको तदर्थ कमिटी गठन गरे । जसको महासचिव थिए मोहनराज जोशी ।
यसको केही समयपछि नै निर्णय भयो, नेपालले पहिलो पल्ट सहभागिता जनाउन लागेको ओलम्पिकमा दुई म्याराथन धावक भूपेन्द्र सिलवाल र गङ्गाबहादुर थापालाई समावेश गराउने ।
यो कुरा बाहिर आएलगत्तै नेपालस्थित बेलायती दूतावासबाट खबर आयो, हङकङस्थित गोर्खा रेजिमेन्टमा चार प्रतिभाशाली नेपाली बक्सर छन् । लैजाने भए हामी तयार छौँ ।
त्यतिबेला गोर्खाली सेनाका यी चारै बक्सरलाई रेजिमेन्टका बेलायती प्रशिक्षकले तालिम दिएका रहेछन् । त्यसैले उनीहरूको माग थियो, टोकियो ओलम्पिकमा आफ्नो पल्टनका चार बक्सर समावेश गराउने हो भने ती बेलायती प्रशिक्षकलगायत अर्का एक बेलायती मेजरलाई सँगै लैजानुपर्ने ।
विदेशमा त्यो पनि बेलायती प्रशिक्षकसँग प्रशिक्षण लिइरहेको हुनाले सुशीललाई लागेछ नेपाली बक्सरहरू तगडा नै होलान् । त्यसैले उनले बेलायती रेजिमेन्टबाट आएको प्रस्तावलाई सहर्ष स्वीकार गरे ।
राखेपले ओलम्पिकमा भाग लिन जाने दुई नेपाली धावकका लागि केही समय अगाडिदेखि नै अभ्यासको व्यवस्था गरेको थियो । त्यतिबेला राखेपको आफ्नै कार्यालय थिएन । खेलकुदको सबै काम सुशीलशमशेरको बागदरबारस्थित घरबाट हुन्थ्यो ।
राखेपले ओलम्पिकमा भाग लिन तत्कालीन सरकारसमक्ष ६० हजार रुपियाँ बजेट माग गरेको थियो । त्यतिबेला मन्त्रीपरिषद्का उपाध्यक्ष थिए तुलसी गिरी । उनले सुरुमा भने छन्, “यत्रो पैसा कहाँबाट ल्याउनु । छैन पैसा ।”
राजा महेन्द्रको स्वीकृति लिएर नेपाली खेलाडी ओलम्पिक पठाउन लागेका सुशीलशमशेर पहिले त प्रधानमन्त्रीको कुरा सुनेर रनभुल्लमा परे । पछि उनले दरबार पुगेर राजा महेन्द्रसमक्ष बिन्ती चढाए ।
सुशीलशमशेर नाताले राजा महेन्द्रका मन पर्ने साला थिए । महेन्द्रले “तिमी चिन्ता नगर म भन्दिन्छु ।” भने छन् । यसपछि नेपाल सरकारले ओलम्पिक खेल्न राखेपलाई ६० हजार रुपियाँ उपलब्ध गरायो ।
यो कुरा सम्झिँदा अहिले पनि रोमाञ्चित हुने गर्छन् सुशील । “राजा महेन्द्रले अग्रसरता नलिएको भए पहिलो पल्ट जापानमा ओलम्पिक खेल्ने हाम्रो सपना
तुहिन्थ्यो,” सुशील भन्छन् ।
नेपालले औपचारिक रूपमा पत्राचारदेखि सबै काम गर्न ओलम्पिक अटैचीका रूपमा रामकृष्ण वर्मालाई जापान खटाएको थियो । त्यतिबेला वर्मा टोकियोमा बसेर पढ्दै थिए । त्यसैले उनलाई जापानी भाषाको ज्ञान थियो । ओलम्पिक अवधिभर काम गर्न वर्मालाई मासिक दुई सय डलर पारिश्रमिक उपलब्ध गराइयो ।
सुरुमा नेपाली टोलीको प्रतिनिधित्व गर्दै ‘सेभ द मिसन’ को हैसियतमा तत्कालीन अधिराजकुमार वसुन्धरा आफैँ जाने तयारी थियो तर पछि उनलाई के लागेछ कुन्नी नजाने निर्णयमा पुगे । “सायद उहाँलाई ओलम्पिकमा त्यति इज्जत पाइँदैन कि भन्ने लाग्यो होला । उहाँ नजाने भएपछि मैले ओलम्पिकमा जाने सौभाग्य प्राप्त गरेँ,” सुशील भन्छन् ।
ओलम्पिकका लागि काठमाडौँबाट दुई म्याराथन धावक गङ्गाबहादुर थापामगर र भूपेन्द्र सिलवाल, ‘सेभ द मिसन’ मा सुशीलशमशेर आफैँ, ओलम्पिक कमिटीका तत्कालीन सचिव जोशी, एथलेटिक्सको व्यवस्थापकमा द्वारिका रामभगत माथेमा बाहेक पनि थप चार जना टोकियो उडेका थिए । ती अतिरिक्त व्यक्ति थिए, मृगेन्द्रशमशेर राणा, उनकी श्रीमती रुक्मणीदेवी तथा छोरा सागरशमशेर र बुहारी वृन्दा राणा ।
बबरशमशेर राणाका छोरा मृगेन्द्र खेलमा निकै सोख राख्थे । छोरा सागर पनि कहलिएका टेनिस खेलाडी थिए ।
“बुवा मृगेन्द्रले ओलम्पिक हेर्ने इच्छा प्रकट गरेपछि सदस्यसचिव सुशीलले पैसाको अभाव छ भन्नुभएको थियो । त्यसपछि बुवाले आफ्नो परिवारको खर्च आफैँले उठाउने बताउनुभयो । यसरी कुरा मिलेको थियो,” सागरशमशेर सम्झन्छन् । ओलम्पिक खेल्न जाने नेपाली टोलीलाई मृगेन्द्रले केही आर्थिक सहयोग पनि गरेका थिए । नेपाली टोली काठमाडौँबाट पहिले कोलकाताको डमडम विमानस्थल उत्रिएको थियो । अनि त्यहाँबाट टोकियो उड्यो ।
नेपालबाट उडेका म्याराथन धावकको अन्य खेलाडीसँगको भेट जापानमै भएको थियो । हङकङमा अभ्यासरत चार जना बक्सर नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा त्यतैबाट जापान पुगेका थिए ।
उनीहरूलाई अस्ट्रेलियाका पूर्वच्याम्पियन विली टिङ्गलले अभ्यास गराएका थिए । “हामीलाई करिब तीन महिना पूरै पेलाएका थिए विलीले,” पहिलो ओलम्पिकमा सहभागी नेपाली बक्सर नामसिंह बताउँछन् ।
नेपाली खेलाडी टोकियो ओलम्पिक गाउँमा बसेका थिए । पदाधिकारी भने टोकियोमा भर्खरै खुलेको ‘न्यु ओतानी’ होटलमा बसे । “त्यतिबेला एउटा कोठाको मूल्य छ डलर थियो,” सागर सम्झन्छन् ।
ओलम्पिक उद्घाटनको अघिल्लो रात ‘मार्च पास’ मा देशको झन्डा कसलाई बोक्न दिने भन्ने विषयमा चर्चा चलेको थियो । गोर्खा रेजिमेन्टको अफिसर भएका कारण मेजर जेएस किनलाई दिने हो कि भन्ने कुरा चल्यो तर उनी बेलायती नागरिक भएका कारण नेपाली झन्डा त नेपालीले नै बोक्नु पर्छ भन्ने अर्को तर्क आयो । यसपछि पहिलो ओलम्पिक सहभागितामा नेपाली झन्डा बोक्ने सौभाग्य द्वारिका रामभगत माथेमाले प्राप्त गरे ।
“यस विषयमा आआफ्नै तर्र्क थिए । मैले आर्मी पृष्ठभूमि भएका कारण सुरुमा जेएस किनको नाम प्रस्ताव गरेको थिएँ । अन्य साथीले नेपालीलाई नै झन्डा बोक्न दिनु पर्छ भन्नुभयो । त्यो कुरा पनि ठिक लाग्यो । यसपछि द्वारिकाको नाममा सहमति जुट्यो,” सुशील सम्झन्छन् ।
नेपाली टोली रातो ब्लेजर लगाएर मार्च पासमा उत्रिएको थियो । पहिलो ओलम्पिक सहभागितामा नेपालको प्रदर्शन सोचे जस्तो राम्रो भएन । नेपालबाट गएका दुवै म्याराथन धावकले दौड पूरा गर्न सकेनन् । हङकङबाट गएका चार बक्सरले पनि निराश पारे । लाइट वेल्टरवेटमा ओमप्रसादले इथियोपियाका ग्याब्रे गिओगिसलाई पराजित गरेका थिए तर दोस्रो भिडन्तमा ट्युनेसियाका हेबिब गाल्हियासँग पराजय भोगे ।
दोस्रो विश्व युद्धताका बर्मा पुगेर ब्रिटिस–गोर्खा रेजिमेन्टबाट नेपालीले जापानविरुद्ध युद्ध लडेका थिए । त्यतिबेलादेखि नै नेपालीको बहादुरीपनको विषयमा जापानी जानकार थिए । त्यसैले जापानमा ओलम्पिक खेल्न जाँदा नेपाली खेलाडी तथा पदाधिकारीलाई ठूलो इज्जत जापानीहरूले दिए ।
(लेखक नेपाली खेलकुदका इतिहासविद् हुन् ।)