प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा मुलुकको वैदेशिक व्यापारको अवस्थाबारे गम्भीर अभिव्यक्ति दिनुभएको थियो । अरूले बेचिरहने र हामीले किनिरहने मात्र भएकाले यस्तो स्थितिलाई व्यापार भन्न नमिल्ने भन्दै प्रधानमन्त्रीले अब हामीले पनि व्यापार गर्न सुरु गर्नुपर्ने बताउनुभएको थियो । त्यसो त विगतमा नेपालले पनि केही वस्तुको व्यापार गरेकै हो तर केही वर्षयता भने निर्यात घट्दो छ र आयात फराकिलो हुँदै छ । भन्सार विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कले पनि मुलुकको व्यापार घाटा अत्यासलाग्दो छ । आर्थिक वर्ष २०८०/८१ मा आयात करिब १५ खर्ब ९३ अर्ब रुपियाँको हुँदा निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड रुपियाँमा सीमित देखिएको छ । यो असन्तुलनमा कार्यकारी प्रमुखका भनाइले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन अति आवश्यक छ । आगामी दिनमा नेपाली उत्पादनका वस्तु तथा सेवाको निर्यात वृद्धि गरी वैदेशिक व्यापार सन्तुलनमा ‘सेतो सुन’ भनिने विद्युत् व्यापारमा आशातीत सफलता प्राप्त हुन थालेको छ ।
तीन वर्षअघिदेखि भारतसँग आयातनिर्यात थालिएको विद्युत् व्यापारमा यस पटकदेखि निर्यातले जितेको छ । आगामी १० वर्षमा १० हजार मेगावट विद्युत् खरिदबिक्री सम्झौता भइसकेको अवस्थामा खुद निर्यात चरणमा प्रवेश गर्नुले सबैभन्दा धेरै व्यापार घाटा हुँदै आएको मुलुकसँग क्रमशः व्यापार सन्तुलन कायम हुनेतर्फ आशा जगाएको हो । यसबाट जलस्रोतका क्षेत्रमा विश्वमै धनीमध्येको मुलुक भनेर चिनिनुमा जति गौरवबोध हुन्थ्यो, उपयोगमा ल्याउन नसक्दा हुने गरेको पीडानुभूतिमा थोरै भए पनि मलम लगाउने काम भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक विसं २०७८ कात्तिक १७ देखि भारततर्फ निर्यात प्रारम्भ गरेको ३९ मेगावाटको परिमाण वृद्धि भएर भारतबाट किनेकोभन्दा बेचेको विद्युत्को मात्रा र रकम बढी भएको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार गत आव २०८०/८१ मा नेपाल निर्यातक मुलुक बनेको हो । २०८० साउनदेखि २०८१ असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएर त्यसबापत १६ अर्ब ९३ करोड २६ लाख रुपियाँ आम्दानी भएको छ । सोही अवधिमा १६ अर्ब ८१ करोड तीन लाख रुपियाँको विद्युत् आयात हुँदा आयातभन्दा १२ करोड २३ लाख रुपियाँ नाफाको व्यापार हुन सकेको छ । सुक्खायाममा नदी प्रवाही आयोजनाबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न आयात गर्नैपर्ने अवस्थामा उत्पादन वृद्धि हुँदै जाँदा क्रमशः आयात प्रतिस्थापन हुने जलस्रोतविद्को भनाइ छ ।
नेपालमा उत्पादित विद्युत् निर्यातका लागि छिमेकी मुलुक भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिदबिक्री सम्झौता भइसकेको छ । यसै गरी प्रारम्भिक चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेशलाई बिक्री गर्नसमेत नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत् व्यापार कम्पनीबिच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएर अर्कोतर्फको ढोकासमेत खोलिएको छ । छिमेकी मुलुकमा मात्र नभएर नेपाल ऊर्जामार्फत दक्षिण एसियाको उपक्षेत्रीय बजारमा समेत प्रवेश गरिसकेको छ । प्राधिकरणले मुलुकमा खपत नभएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडले एनभिभिएनलाई बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपियाँ ७२ पैसा छ भने हिउँदमा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपियाँ १७ पैसा रहेको प्राधिकरणले जनाएको छ । ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको हो । आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपियाँको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपियाँको निर्यात सम्भव भएको थियो ।
विद्युत् पर्याप्तता बढ्दै जाँदा देशभित्र विद्युतीय सवारीसाधन र विद्युतीय चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा समेत कमी आएको विदित हुन्छ । हाल नेपालले दैनिक करिब सात सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । मध्यकालीन सम्झौता अनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । मुलुकको सुनौलो भविष्यको आधार भनेकै विद्युत् व्यापार हो । ‘सेतो सुन’ को व्यापारमार्फत समृद्धि हासिल गर्ने यात्रामा ‘अर्जुनदृष्टि’ राख्न आवश्यक छ ।