• १२ साउन २०८१, शनिबार

गर्मी बढेसँगै लामखुट्टेको प्रकोप

blog

महेन्द्रनगर समाचारदाता

महेन्द्रनगर (धनुषा), वैशाख २१ गते । गर्मी बढेसँगै मधेस प्रदेशका जिल्लामा लामखुट्टेको प्रकोप बढेको छ । बिहानभन्दा साँझ र रातिको समयमा लामखुट्टेको टोकाइबाट जनजीवन प्रभावित हुने गरेको छ । प्रदेशका मुख्य सहर बजार, ग्रामीण भेगका सहर बजार, गाउँबस्तीमा लामखुट्टेको प्रकोप रहेको छ । 

प्रत्येक वर्ष लामखुट्टे नियन्त्रणको नाममा जनकपुरधाम उपमहानगरपालिकाले लाखौँ रुपियाँ खर्च गरिएको भएपनि अझै नियन्त्रण भएको छैन । दिनरात लामखुट्टेको टोकाइबाट जिल्लावासी आजित भएको स्थानीय बताउँछन् । अन्य स्थानको तुलनामा धनुषाको जनकपुरधाममा लामखुट्टेको प्रकोप बढेको छ ।

तीन वर्षको अवधिमा जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे मार्न ४८ लाख ३३ हजार २६९ खर्च गरेको उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत उमाशङ्कर मल्लिकले जानकारी दिनुभयो । उहाँका अनुसार लामखुट्टे नियन्त्रणको लागि आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख २३ हजार १३१ रुपियाँ, २०७७/०७८ मा २३ लाख २४ हजार २२३ रुपियाँ र चालू आर्थिक वर्ष २०७८/०७९ चैत १२ गतेसम्म नौ लाख ८५ हजार ९१५ रुपियाँ खर्च भएको छ । 

लामखुट्टे टोकाइबाट पीडित जनकपुरधाम रामानन्दचोक निवासी मिनु झा भन्नुहुन्छ, “लामखुट्टेको टोकाइले साँझ बालबालिकालाई एकदमै गाह्रो हुन्छ । बेला बखतमा बच्चालाई शरीरमा लामखुट्टेले टोकेको भागमा दानादाना एलर्जी आउछ ।”

प्रत्येक मौसम जनकपुरधाममा लामखुट्टेको प्रकोप देखिन्छ । गर्मीमा बढी हुन्छ भने जाडोमा अलि कम हुन्छ । बजारमा पाउने विभिन्न सामग्री जस्तै मच्छर धूप, अगरबत्ती, झुललगायतको सहायताले यहाँ दिनचर्या काट्ने गरेको उहाँले बताउनुभयो । 

“लामखुट्टे मार्न प्रयोग गरिने धूप, स्प्रेले लामखुट्टे मर्छ तर यसका साथै त्यसमा भएको तरल पर्दाथले हाम्रो शरीरमा एकदमै नकारात्मक असर गर्छ । त्यसैले स्प्रे र धूपभन्दा राम्रो उपाय झुलमा बस्नु नै हो,” डा.सुरेन्द्र यादवले भन्नुभयो । उहाँले डेङ्गु र मलेरिया लामखुट्टेको टोकाइबाट हुने मुख्य रोग भएको उल्लेख गर्नुभयो । लामखुट्टे समाधान गर्न आफूहरूले पटक–पटक नगरप्रमुखलाई ध्यानाकर्षण गराए पनि गर्न यस तर्फ ध्यान नदिएको स्थानीय युवा नेता सरोज मिश्रले बताउनुभयो ।