कुनै पनि सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्ध मानव संसाधनमा काम गर्ने इच्छा, चाहना र जागरण आवश्यक हुन्छ । यसका लागि सङ्गठनमा रहेका जनशक्तिलाई कार्यप्रति उत्प्रेरित गर्नु आवश्यक छ । सङ्गठनमा आबद्ध जनशक्तिले नियमित रूपमा तलबभत्ता एवं तोकिएका अन्य सेवासुविधा प्राप्त गरे पनि सङ्गठनको उद्देश्य, आवश्यकता तथा आफ्नो क्षमता अनुरूप नियमित रूपमा कामप्रति अग्रसरता नदेखाएको भनी सार्वजनिक रूपमा टीकाटिप्पणी हुने गरेको पाइन्छ । सार्वजनिक प्रशासनले राज्य प्रदत्त अधिकारको उपयोग गरी स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्मका साथै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका गतिविधिलाई सञ्चालन गर्ने जिम्मेवारी पूरा गर्दै आएको भए पनि सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन स्तर कमजोर रहेको भनी जनस्तर, बौद्धिक वर्ग एवं राजनीति तहबाट समेत आलोचना हुने गरेको पाइन्छ ।
आफूले गरेको कार्यको प्रशंसा, मानसम्मानका साथै पदोन्नति र वृत्तिविकासको अवसर एवं विभिन्न सुविधाको अपेक्षा राखेका कर्मचारीलाई प्रभावकारी ढङ्गबाट परिचालन गरी सङ्गठनात्मक उद्देश्य हासिल गर्ने कार्य व्यवस्थापकका लागि चुनौतीको रूपमा रहेको छ । कर्मचारीलाई कसरी उत्प्रेरित गर्नेभन्दा पनि उत्प्रेरित कर्मचारीहरूलाई कसरी दिगो एवं टिकिरहने वातावरण मिलाउने र उत्प्रेरणा नष्ट हुनबाट रोक्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु व्यवस्थापकको जिम्मेवारी रहेको कुरामा डेभिड सिरोटाले औँल्याएका छन् ।
विलियम जी स्कोटले अपेक्षित उद्देश्य प्राप्त गर्न कर्मचारीलाई काम गर्न उत्साहित गर्ने, डिसेन्जो र रोबिन्सले व्यक्तिगत उद्देश्य प्राप्ति गर्ने, डाल्टन फारल्यान्डले कर्मचारीलाई निश्चित तरिकाले काम गर्न वा नगर्न तत्पर बनाउने, कुन्ज र डोनेलले उत्साह, इच्छा, आवश्यकता तथा काम गर्न प्रेरित गर्ने तìवको रूपमा उत्प्रेरणालाई लिएका छन् । त्यस्तै, अमेरिकी प्रसिद्ध मनोविद् अब्राहम हारोल्ड मास्लोले मानिसलाई कामप्रति उत्प्रेरित गर्न उनीहरूको आवश्यकता पूर्ति गर्नु पर्छ भन्ने सिद्धान्तको प्रतिपादन गरेका छन् । मानिसका अनन्त आवश्यकतामध्ये एउटा आवश्यकता पूरा भएपछि अर्को आवश्यकताको शृङ्खला सुरु हुनेतर्फ सङ्केत गर्दै उनले मानवीय आवश्यकता वा चाहनालाई व्रmमशः शारीरिक आवश्यकता, सुरक्षासम्बन्धी आवश्यकता, सामाजिक आवश्यकता, आत्मसन्तुष्टिको आवश्यकता र आत्मसम्मानको आवश्यकता गरी पाँच सिद्धान्त उल्लेख गरेका छन् । यी आवश्यकताहरू प्राथमिकताको आधारमा एकपछि अर्को गरी शृङ्खलाबद्ध रूपमा अगाडि बढ्दै जान्छन् । यस सिद्धान्तका अनुसार कर्मचारीको आवश्यकता पूरा गर्दै गएमा मात्र कर्मचारीहरूलाई काम गर्न उत्प्रेरित गर्न सकिन्छ । व्यक्तिका आधारभूत आवश्यकता पूर्ति गरी व्यक्तिको मनोबल बढाउन सङ्गठनमा काम गर्ने सबै कर्मचारीको वृत्तिविकासलगायत अन्य सेवा तथा सुविधामा समान अवसर दिई सम्पूर्ण कर्मचारीको मनस्थिति तथा व्यवहारमा परिवर्तन गरी उत्प्रेरित गर्नु आवश्यक छ ।
कर्मचारीका बिचमा राजनीतिक आस्थाका आधारमा एकअर्कोलाई दोषारोपण र आलोचना गर्ने प्रचलन बढ्दै गएको वर्तमान अवस्थामा उत्कृष्ट र अनुकरणीय कार्य गरेबापत हरेक वर्ष प्रदान गरिने पुरस्कार एवं कार्यसम्पादनबापतको अङ्क हाम्राभन्दा राम्रा कर्मचारीले पाउने प्रचलन स्थापित गर्न सकेको खण्डमा मात्र दक्ष जनशक्तिमा रहेको क्षमता र सम्भावनालाई पूर्ण रूपले उपयोग गर्न सकिन्छ । अन्यथा कर्मचारीमा आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुका सट्टा कार्य पन्छाउने, निर्णय प्रव्रिmयामा ढिलाइ गर्ने, कार्य प्रगतिप्रति चासो नराख्ने, कार्यसम्पादन गर्दा विवेक प्रयोग नगर्ने, जोखिम लिन नचाहने जस्ता प्रवृत्ति देखा पर्न सक्छन् । कर्मचारीहरूलाई प्रदान गरिने मासिक तलबभत्ता महँगीको अनुपातमा अत्यन्त कम रहेको तथ्यबाट समेत नेपालको सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारीहरूको उत्प्रेरणाको स्तर कमजोर रहेको सहजै अनुमान गर्न सकिन्छ ।
सार्वजनिक प्रशासन सरकार र नागरिकलाई जोड्ने माध्यम भएकाले यसमा आबद्ध कर्मचारी उच्च मनोबल र उत्प्रेरित हुनु आवश्यक छ । कर्मचारी जति नै दक्ष, व्यावसायिक तथा सिपयुक्त भए पनि यदि उनीहरूसँग काम गरेर देखाउने इच्छा र तत्परता रहेन भने त्यसले अपेक्षित नतिजा दिन सक्दैन । नेपालमा सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारीको तलब भत्ताले उनीहरूको आधारभूत आवश्यकताको परिपूर्ति गर्न कठिनाइ परिरहेको वर्तमान सन्दर्भमा कर्मचारी एकातिर आफ्नो आवश्यकता परिपूर्ति, परिवारको लालनपालन, औषधोपचार जस्ता कुराले चिन्तित छन् भने अर्कोतिर पद, पैसा र पावर सबैथोक देख्ने र सोको प्राप्तिका लागि अग्रसर भइरहेको सामाजिक परिवेशमा कर्मचारीमा काम गर्ने ऊर्जा र उत्प्रेरणा कमजोर भएर जान सक्छ । यसबाट सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारीलाई कामप्रति लगनशील भएर लाग्नका लागि मौद्रिक तथा गैरमौद्रिक उत्प्रेरणा आवश्यक पर्छ ।
नेपालको संविधान, निजामती सेवा ऐन तथा नियमावलीलगायत अन्य क्षेत्रगत ऐन तथा नियमावलीले सार्वजनिक सेवालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, सेवामूलक, उत्तरदायी र सुदृढ बनाउँदै सेवालाई सरल र सहज रूपमा आमनागरिकसम्म पु¥याउने परिकल्पना गरेको छ । कर्मचारीलाई तोकिएको कार्यसम्पादन गर्न कसरी उत्प्रेरित गर्ने भन्ने सम्बन्धमा गहन अध्ययन र अनुसन्धान भएको पाइँदैन ।
सार्वजनिक सेवामा प्रवेश गर्दा कर्मचारी उच्च मनोबलसहित प्रवेश गर्ने भए पनि पदस्थापनापछि कार्य वातावरण, वृत्तिविकास, सुविधा, क्षतिपूर्ति तथा सुपरीवेक्षण जस्ता औजारहरूको असमान प्रयोगका कारण सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारीको उत्प्रेरणाको स्तर खस्कँदै गएको पाइन्छ । स्थायी सरकारको रूपमा रहेको नेपालको सार्वजनिक प्रशासन राजनीतिक दबाब र प्रभावको कारण सेवाग्राहीलाई स्वच्छ छविको प्रत्याभूति दिन अझ धेरै कसरत गर्नुपर्ने देखिन्छ । नीतिभन्दा नेता, विधिभन्दा व्यक्तिको बोलवालाले कर्मचारी उत्प्रेरणाका नीति एवं उपायहरू न्यायोचित उपभोग हुन पाएका छैनन् ।
जनता सेवाका मागकर्ता र सरकार सेवाको आपूर्तिकर्ता भएकाले सरकारले प्रशासनिक संयन्त्रको परिचालनबाट सार्वजनिक सेवासुविधा प्रवाहमा देखिएका समस्याको निराकरणका लागि सार्वजनिक प्रशासक असल र उत्प्रेरक हुनु आवश्यक छ । सार्वजनिक प्रशासनलाई पारदर्शी र सदाचारयुक्त बनाउन सार्वजनिक प्रशासकको कार्यशैली सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थरहित, इमानदारी, सदाचारी, कार्यकुशलता, जिम्मेवारी, पारदर्शिता, उत्तरदायित्व, समानता तथा समता आदिबाट अभिप्रेरित हुनु आवश्यक छ । सङ्गठनका हरेक सदस्यको भूमिका फरक भए पनि उद्देश्य एउटै हुने भएकाले कार्यरत सीमित कर्मचारीको जोडबलले मात्र सङ्गठनले अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्ने भएकाले सङ्गठनमा आबद्ध सबै कर्मचारी सङ्गठनको उद्देश्य प्रप्तिका लागि अग्रसर हुनै पर्छ, जसका लागि सङ्गठनमा उत्प्रेरणाको खाँचो हुन्छ ।
अतः उत्प्रेरणा मनोवैज्ञानिक पक्षसँग बढी सम्बन्धित भएकाले के कारणले सार्वजनिक प्रशासनमा उत्प्रेरणा जगाउन सकिएको छैन र उत्प्रेरणा जगाउन के गर्नु पर्छ भनेर गणितीय हिसाबले ठोकुवा गर्न त नसकिएला तर राजनीतिक संस्कार, सामाजिक मान्यता, व्यवस्थापकीय पक्ष एवं स्वयम् कर्मचारीको मनोवृत्ति नै सार्वजनिक प्रशासनमा उत्प्रेरणाका प्रमुख बाधकका रूपमा रहेका छन् । यसको समाधानका लागि राजनीतिक प्रतिबद्धता, प्रशासनिक तटस्थता, सामाजिक संस्कारमा एवं स्वयम् कर्मचारीको मनोवृत्तिमा पनि सुधारको आवश्यकता देखिन्छ ।