• १६ भदौ २०८१, आइतबार

मुख्यमन्त्री लामाले मङ्गलबार विश्वासको मत लिने

blog

राममणि दाहाल 

हेटौँडा, साउन १४ गते  । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले साउन १५ गते मङ्गलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ ।

बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साउन १५ गते मङ्गलबार दिउँसो ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहनुभएका मुख्यमन्त्री लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । 

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री लामाले प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न मङ्गलबार दिउँसो ३ बजेका लागि समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री लामाले १३ मन्त्रालय रहेको बागमती प्रदेशमा एक जना बिनाविभागीयसहित १४ जना मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त हुँदा लामा कांग्रेस र नेकपा (एमाले) का गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थन थियो । 

सरकारमा रहेका दलहरू माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, सभामुखसहित राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

राजनीतिक सल्लाहकारमा शाह 

यसैबिच मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाहलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले नुवाकोटका शाहलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले उक्त जानकारी दिनुभयो । नुवाकोटको तादी गाउँपालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन, २०७७ मा भएको व्यवस्था अनुसार प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । शाह विद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेसको राजनीतिमा सव्रिmय रहनुभएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले बिनाविभागीयमन्त्रीको कार्य विभाजनबारे बैठकमा छलफल नै नभएको बताउनुभयो । १३ मन्त्रालय रहेको बागमती प्रदेशका बिनाविभागीयसहित १४ मन्त्री नियुक्त गरिएको छ ।