• १३ साउन २०८१, आइतबार

एक सयको क्षमता भएको कारागारमा सात जनामात्र कैदी

blog

यदुप्रसाद भट्ट

मनाङ, साउन १३ गते । देशकै कम कैदीबन्दी रहने मनाङको कारागार भवन ठूलो र सुविधासम्पन्न छ । यो कारागार भवनको क्षमता सय जनाको भए पनि हाल मनाङ कारागारमा जम्मा ७ कैदीबन्दी छन् । जसमध्ये कर्तव्य ज्यान मुद्दाका दुई, जबरजस्ती करणी अभियोग मुद्दाका दुई, सङ्गठित अपराध मुद्दाका एक, गौवध मुद्दाका एक र सवारी ज्यान मुद्दाका एक कैदीबन्दी छन् । 

जिल्ला कारागार कार्यालयको नयाँ भवन बनेको तीन वर्ष पूरा भएको छ । द क्याराभान जेभीले २०७८ साल जेठमा जिल्ला प्रशासन कार्यालयलाई कारागारको स्वामित्व हस्तान्तरण गरको थियो तर प्रयोगमा भने आउन सकेको थिएन ।

कारागार हस्तान्तरण भएको तीन वर्षपछि यही साउन ७ गतेदेखि मात्रै सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, "२०७८ जेठमा प्रशासनलाई कारागारको स्वामित्व हस्तान्तरण भएको हो, २०७८ असार १ मा बाढीपहिरोको जोखिमले केही समय प्रयोगमा ल्याउन नसक्दा प्रयोगविहीन बन्यो, केही प्राविधिक कमजोरी र भवनमा प्रयोग भएका सामग्रीमा देखिएको त्रुटि सच्याएर प्रशासनको स्वामित्वमा आएको तीन वर्षपछि सञ्चालनमा ल्याएका छौं।"

लामो समय हुँदासम्म कैदीबन्दीलाई साँघुरो ठाउँमा राखिएकामा गत हप्ता मात्रै नयाँ भवनमा सारिएको हो । कारागार राखिएको भवनमा अब सामाजिक विकास कार्यालय राख्ने निर्णय भएको र छिट्टै व्यवस्थापन गरिने प्रजिअ लामिछानेले बताउनुभयो ।

कारागारको नयाँ भवनमा कैदीबन्दी सारिएसँगै प्रयोगविहीन भवन सञ्चालनमा आएको हो । विपद्का बेला केही समय प्रयोगमा ल्याएको भए पनि अरु समयमा भवन प्रयोगविहीन रहेको थियो । प्राविधिक त्रुटि देखाउँदै भवनमा प्रयोगमा ल्याउन ढिलाइ भएको कारागार प्रमुख रुद्र गुरुङले जानकारी दिनुभयो । उहाँले नयाँ कारागार भवन २ करोडको लागतमा निर्माण गरिएको बताउनुभयो । कारागारमा देखिएका समस्यामध्ये भवनमा प्रयोग गरिएका सिसा हटाई काठ राख्ने र सुरक्षा पोस्ट व्यवस्थित गरी कैदीबन्दीलाई नयाँ भवनमा सारिएको छ ।

"उक्त भवन प्रयोगमा नआउँदा सरकारको २ करोडको लगानी खेर गयो भन्ने लागेको थियो, बल्ल मात्रै सञ्चालनमा आएको छ", उहाँले भन्नुभयो, "कैदीबन्दीलाई सहज बसोबासको व्यवस्थापनका लागि उच्च प्राथमिकताका साथ नयाँ भवनमा सारिएको हो ।"

एक सयभन्दा बढी क्षमताको नयाँ कारागार भवनमा हाल सात जनामात्र कैदीबन्दी रहनु हिमाली जिल्लालाई सुहाउँदो नभएको स्थानीयको गुनासो छ । मौसम तथा भौगोलिक आधारमा बनाइनुपर्ने भवन यहाँको मौसम तथा भौगोलिकतामा आधारित नभएको उनीहरुको भनाइ छ ।