• १९ असार २०८१, बुधबार

नाचगान गर्दै मतदाता रिझाउँदै

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २१ गते  । स्थानीय सरकारमा जनताका प्रतिनिधि चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनको रौनक बढेको छ । दलहरूले चुनाव लक्षित गतिविधि बढाएपछि कैलालीमा पनि चुनावी रौनक बढेको हो । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दलहरूले नाचगान गर्दै मतदाता रिझाउने कार्य गरिरहेका छन् । 

जिल्लामा क्रियाशील सबै दलले प्रचारप्रसार कार्यलाई व्यापक पारेका छन् । सहर, गाउँमा घरदैलो, ¥याली गर्नुका साथै दलहरूले नाचगानसहितको भेला पनि गरिरहेका छन् । पाँच वर्षपछि दोस्रो पटक हुन लागेको स्थानीय तहमा आआफ्ना दलबाट उम्मेदवार भएका व्यक्तिलाई जिताउन राजनीतिक दलहरूबीच प्रचारप्रसारको होडबाजी चलेको छ । 

दलहरूले आआफ्ना पार्टीको प्रतिबद्धतासहित विकासका मुद्दालाई अगाडि बढाएर जनताबाट भोट माग्ने कार्य गरिरहेका भजनी नगरपालिका–४ का बाँधुराम चौधरीले बताउनुभयो । “सार्वजनिक स्थानहरूमा दलहरूले नाचगान गर्दै भोट माग्ने कार्य गरिरहेका छन्,” उहाँले भन्नुभयो, “निर्वाचन नजिकिएसँगै चुनावी रौनक बढेको देखिन्छ ।”  

स्थानीय तह जनता नजिकको स्वायत्त सरकार रहेकाले त्यहाँ योग्य, क्षमतावान् र कर्मठ प्रतिनिधि पुगून् भन्ने मतदाताको चाहना छ । पार्टी जुनसुकै भए पनि पालिकाभित्र सन्तुलित विकासको काम गर्न सक्ने जनप्रतिनिधिको खोजीमा मतदाताहरू रहेको चौधरीको बुझाइ छ । 

कैलालीमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले आआफ्ना एजेन्डासहित मतदाता रिझाउने कार्य गरिरहेका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राप्रपा, परिवार दललगायत पनि सोही कार्यमा जुटेका छन् ।

यस पटक मतदाताले न्याय र विकासको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउने नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गङ्गा चौधरी बताउनुहुन्छ । “विगतदेखि शासन सत्ता चलाउँदै आएका ठूला दलहरूले जनतालाई न्यायोचित विकास दिन सकेका छैनन्,” उहाँले थप्नुभयो, “केही फरक मुद्दासाथ हाम्रो पार्टी चुनावमा होमिएको छ । जनताले हाम्रो पार्टीका उम्मेदवारलाई भोट दिएर जिताउनेछन् ।” 

कैलालीमा सत्ताधारी गठबन्धन दल काँग्रेस, माओवादी र एकीकृत समाजवादी तालमेलका साथ चुनावी मैदानमा उत्रिएका छन् तर कतिपय पालिकामा भने पालिकास्तरका नेताले गठबन्धन मानेका छैनन् । 

त्यस्तै जसपा, लोसपालगायतका केही पार्टीले पनि छुट्टै चारदलीय गठबन्धन गरेका छन् । नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टीलगायतका कतिपय दल एक्लै मैदानमा उत्रिएका छन् । गठबन्धन होस् या एक्लै चुनावी मैदानमा होमिएका दल, सबै प्रचारप्रसारमा अग्रसर छन् । 

चुनाव नजिकिँदै गएपछि प्रचारप्रसारलाई तीव्रता दिइएको माओवादीका नेता दीपक सुनारले बताउनुभयो । “उम्मेदवारसहित जनताको घरदैलोमा पुगेर प्रचारप्रसार गर्ने कार्य गरिरहेको छौँ,” उहाँले भन्नुभयो ।