काठमाडौं, वैशाख २० गते। पाठेघरको मुखको क्यान्सरको समस्या नेपाली महिलाका लागि नयाँ होइन। नेपालमा यो समस्याबाट ठूलो संख्यामा महिला पीडित छन्। हरेक वर्ष यो समस्या देखिने महिलाको संख्या बढ्दो छ। नेपालमा देखिने क्यान्सर बिरामीमध्ये झन्डै २० प्रतिशत पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन्। जसमध्ये वर्षमा एक हजारको मृत्यु हुने चिकित्सकको भनाइ छ।
क्यान्सर रोग विशेषज्ञले गरेको एक अध्ययनअनुसार भविष्यमा २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई पाठेघरको क्यान्सर हुनसक्ने सम्भावना देखिएको छ। तीसदेखि ८० वर्ष उमेर समूहका महिलामा पाठेघरको क्यान्सर बढी देखिने चिकित्सकको भनाइ छ। नेपालमा पाठेघरको क्यान्सरबाट करिब १० देखि १२ हजार महिला पीडित भएको अनुमान गरिएको छ।
पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि भएर निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिने क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाई बताउनुहुन्छ। डा. चापागाईका अनुसार ९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन फ्यापिलोमा भाइरस’को संक्रमणले गर्दा हुन्छ।
किटाणुले पाठेघरको मुखमा रहेका कोषिकामा संक्रमण गरेर अनियन्त्रित तवरले बढ्न सहयोग गर्छ। यो जीवाणु यौन सम्पर्कबाट सर्ने चिकित्सक बताउँछन्। लामो समय शारीरिक सम्र्पकमा आउने, चाँडै विवाह गर्ने, धेरै जना व्यक्तिसँग शारीरिक सम्पर्क गर्ने र शरीरको सरसफाईमा ध्यान नदिने महिलालाई पाठेघरको मुखको क्यान्सर सम्भावना बढी हुने वरिष्ठ कन्सलटेन्ट गाइनोकोलोजिष्ट कीर्तिपाल सुवेदी बताउनुहुन्छ।
डा. सुवेदीका अनुसार विश्वमा धेरै महिलालाई देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर प्रमुख हो। समयसमयमा परीक्षण गराए क्यान्सर हुनुभन्दा १० वर्षअघि नै लक्षण थाहा हुने उहाँको भनाइ छ। ‘समयसमयमा परीक्षण गराए पाठेघरमा क्यान्सर लाग्नुभन्दा अगाडि नै थाहा हुनसक्छ’, डा. सुवेदी भन्नुहुन्छ, ‘‘क्यान्सर हुनुभन्दा १० वर्ष अगाडि नै पाठेघरको क्यान्सरको पत्ता लगाए उपचार सकिन्छ।’
यो रोगका लक्षण के के हुन् ?
चिकित्सकका अनुसार व्यक्तिपिच्छे यसका लक्षण फरक हुने गर्दछन्। डा. चापागाईका अनुसार सुरुमा खासै लक्षण नदेखिने र पछि रोग बढ्दै गएपछि सामान्यदेखि गम्भीर प्रकारका लक्षण देखा पर्दछन्। सुरुसुरुमा पहिलेको भन्दा अलि धेरै गन्हाउने पानी बग्ने र पानीमा रगत मिसिएको हुन सक्ने र पटकपटक इन्फेक्सन भइराख्ने डा. चापागाईले बताउनुभयो।
डा. चापागाईका अनुसार महिनावारी नभएको समयमा पनि रगत देखापर्ने यस रोगको प्रमुख लक्षण हो। महिनावारी बन्द भइसकेका महिलामा फेरि रगत देखा परेमा यो रोग लागेको शंका गर्न सकिने चिकित्सक बताउछन्। त्यसका अलावा पेट फुल्ने समस्या देखिने र यदि यो धेरै फैलिएको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने साथै दिसा पिसाबमा समस्या देखा पर्न सक्दछ।
पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने ?
डा. सुवेदीका अनुसार यौन सम्र्पक भएका ३० देखि ६० वर्ष उमेरका सबै महिलाले आफूलाई केही समस्या नभए पनि पाठेघरको जाँच हरेक पाँच–पाँच वर्षमा गराउनुपर्दछ। उहाँ भन्नुहुन्छ,“पाँच–पाँच वर्षमा महिलाले कुनै समस्या नदेखिए पनि पाठेघरको मुखको पानी जाँच गरेर पाठेघरमा क्यान्सर लागे/नलागेको थाहा पाउन सकिन्छ, सुरुमा नै पत्तालाग्यो भने यसको उपचार गर्न सकिन्छ।” डा. चापागाईका अनुसार भीआइए वा प्याप स्मेर टेस्ट गरेर कुनै खराबी छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ।
यी परिक्षणको सहायताले पाठेघरको क्यान्सर हुनुभन्दा करिब १० वर्ष अगाडि नै पत्ता लगाएर उपचार गर्न सकिने डा. चापागाई बताउनुहुन्छ।
भीआइए भनेको के हो ?
डा. चापागाईका अनुसार भीआइए टेस्ट गर्दा पाठेघरको मुखमा ५ प्रतिशत एसिटिक एसिड लगाई पाठेघरको मुखमा रंग परिवर्तन भएको हेरिन्छ। यसको नतिजा तुरुन्तै थाहा हुन्छ। यो परीक्षण गर्दा नदुख्ने र शरीरमा कुनै नराम्रो असर नगर्ने डा चापागाई बताउनु हुन्छ।
डा चापागाईले भन्नुभयो, “भिआइए टेस्ट पोजेटिभ आउनु भनेको क्यान्सर हुनु हैन बरु यो भनेको पाठेघरको मुखमा एचपिभिको संक्रमण हुनु हो। जुन उपचार गरेमा निको हुन्छ।” लामो समयसम्म यो एपीभी को उपचार गरिएन र बारमबार संक्रमण भएमा यसले पछि गएर क्यान्सर पनि गराउन सक्ने चिकित्सक बताउछन्। त्यसैले समयमानै एपीभी इन्फेक्सनको पहिचान गरी उपचार गराउनु डा. चापागाईको सुझाव छ।
प्याप स्मेयर भनेको के हो ?
प्याप टेस्ट जसलाई प्याप स्मेयर टेष्ट पनि भनिन्छ। यो परीक्षण महिलाको पाठेघरको मुखको श्रावमा भएका कोष कोषिका सामान्य छन् वा असामान्य छन् वा क्यान्सर हुनसक्ने सम्भावना रहेको वा नरहेको भनेर जाँच्ने परीक्षण भएको डा. चापागाईले जानकारी दिनुभयो। डा. चापागाईंका अनुसार यो परीक्षणबाट पाठेघरको मुखमा आएका खराबीलाई अथवा भविष्यमा हुनसक्ने क्यान्सरबारे जानकारी पाउन सकिन्छ। उहाँले भन्नुभयो, “प्याप टेस्टले पाठेघरको मुखमा आएका परिवर्तन जस्तै संक्रमण, क्यान्सर हुने सम्भावना वा क्यान्सर छ भने पत्ता लगाउन सकिन्छ। यसमा पाठेघरको मुखमा रहने तरल प्रदार्थको जाँच गरिन्छ।” ३० देखि ६० वर्ष उमेरका महिला वा शारीरिक सम्पर्क सुरु भएका महिलाले यो जाँच केही समस्या नभए पनि गराउनु पर्ने डा चापागाईले बताउनुभयो। महिनावारी सुकीसकेका महिलाले भने ६५ वर्ष उमेर नपुग्दासम्म परीक्षण गराउनुपर्ने उहाँको भनाइ छ।
डा चापागाईका अनुसार एचआईभी भएका स्टरोइड औषधि सेवन गरिरहेका अथवा यौन पेशामा संलन रहेका महिलाले भने डाक्टरको सल्लाह बमोजिम ६ महिनादेखि १ वर्षको अन्तरमा जाँच गर्नुपर्दछ। पाठेघरको मुखको क्यान्सरबाट जोगिन विकासित मुलुकमा किशोरीलाई ह्युमन फ्यापिलो भाइरस विरुद्धको खोप लगाउने गरिन्छ। नेपालमा पनि सरकारी तहबाट किशोरीलाई ह्युमन फ्यापिलो भाइरस विरुद्धको खोप लगाउन पहल गर्नुपर्ने सरोकारवाला जोड दिन्छन्। एचपीभीडीएनए टेष्टको प्रयोगले एचपीभीको इन्फेक्सन छ, छैन भनेर जाँच गर्न सकिन्छ।
क्यान्सरको उपचार
क्यान्सर हुने बित्तिकै पाठेघर काटेर फाल्नुपर्छ भन्ने मानिसको गलत बुझाई भएको डा. सुवेदी बताउनुहुन्छ। उहाँले भन्नुभयो, “घाउ हुनासाथ पाठेघर निकालेर फाल्नुपर्छ भन्ने बिरामीको बुझाई छ, जुन गलत हो। घाउ कुन अवस्थाको हो। त्यो हेर्नुपर्छ, कुनै बेला घाउको मात्रा उपचार गर्दा हुने पनि हुन्छ।”
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरको लागि सुरुवाती चरणमा सल्यक्रियामार्फत् ट्युमर फालिन्छ। सबै चरणको क्यान्सरको लागि रेडिएसन थेरापी उपयुक्त हुने चापागाई बताउनुहुन्छ।
पाठेघरको मुखको क्यान्सरबाट बच्चने उपाए
खोप लगाउने, उमेर पुगेपछि मात्र विवाह गर्ने र बच्चा जन्माउने, यौन तथा गुप्ताङ्गको रोगको समयमै उपचार गराउने, सुर्तीजन्य प्रदार्थको सेवन नगर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने तथा जाँच गराउने गर्नुपर्छ।
पाठेघरको क्यान्सरको विषयमा गोरखापत्र अनलाइनकी समाचारदाता महिमा देवकोटाका साथमा मनोजरत्न शाही र केशब गुरुङले भक्तपुर क्यान्सर अस्पतालको गाइनो अंको डिपार्टमेन्टकी रजिष्ट्रार डा. जश्मा मल्मीसँगको भिडियो कुराकानीः