• १२ साउन २०८१, शनिबार

कैलालीमा दुई सय ८९ उद्योग बन्द

blog

गोदावरी (कैलाली), साउन ७ गते । जिल्लामा सञ्चालित दुई सय ८९  घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । 

कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएको देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिनुभयो । पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढ्दै गएको छ । महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो ।

एक करोड सम्मको कुल पूँजी भएका निजी फार्म महिलाका नाममा दर्ता गर्दा शुल्कमा छुटको कानुनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्यरुपमा बढेको जोशीले बताउनुभयो । कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता छन् । 

उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषिसम्बन्धी छ हजार पाँच सय १४, निर्माणसम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पाँच हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएका छन् । अहिलेसम्म दर्ता भएका उद्योगमा २५ अर्ब ७० करोड ३७ लाख लगानी प्रस्ताव गरिएको छ । ती उद्योगमा नौ हजार दुई सय ११ महिला र ६९ हजार छ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ । 

गत आव २०८०/८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताउनुभयो । गत आवमा  एक करोड ७७ लाख ४४ हजार सात सय ७७ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०७९/०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो । 

अघिल्ला आवभन्दा गत आव २०८०/८१ मा उद्योग दर्तामा कमी आएको छ । लेखा अधिकृत जोशीले अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसललगायतका काम गत आवदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो । रासस