ठालु भन्नेबित्तिकै भारवाहकको परिकल्पना हुन्छ । शिवले शिरमा गङ्गा धारण गरेर गङ्गाधारी, घाँटीमा कालकुट विष धारण गरेर नीलकण्ठ नाम पाएको पौराणिक कथा हामीले पढे सुनेकै हो । कठिन एवं गम्भीर भार जसले वहन गर्न सक्छ त्यही नै ठालुको गणनामा आउने हो । सबैको हितमा लाग्ने असल नै ठालु हो । ठालुले एउटा विम्बको प्रतिनिधित्व गर्दछ भन्ने मेरो बुझाइ हो ।
धनीमानी, हुनेखाने, प्रतिष्ठित, हैकम चलेको, क्षमता भएको, आफूलाई पीडा दिएर पनि अरूलाई मद्दत गर्ने मान्छेको प्रतिनिधि शब्द हो ठालु । जसको बोली बिक्छ उही ठालु । जसले कजाउन सक्छ त्यही ठालु । जसले मान्छे खेद्न सक्छ त्यही नै ठालु । जो आफूलाई अरूको केन्द्रविन्दु बनाएर राख्न सक्छ त्यही ठालु । ठालुले आफ्नो बोली कसरी बिकाउँछ ? अरूलाई कसरी कजाउँछ ? मान्छे कसरी खेद्छ ? कसरी केन्द्रविन्दुमा रहन्छ ? जस्ता सबै कुरा ठालुका लागि गौण विषय हुन् । समयले ऋतु फेरे झैँ शब्दले पनि ऋतु फेर्ने भएर नै कतिपय कुरालाई सामयिक पनि भन्ने चलन छ । उहिलेका पौराणिक ठालु र अहिलेका आधुनिक ठालुले दिने अर्थ पनि फेरिँदो पो छ कि ? भन्ने भान हुन्छ ।
हाम्रो सनातन संस्कृत सूक्ति उक्तिले विद्वान् र शासक कहिल्यै समान हुँदैनन् भनेको हामीलाई थाहा नै छ । शासक आफ्नै देशमा मात्र पूज्य हुन्छ भने विद्वान् संसारभर पूज्य हुन्छ । ठालुभन्दा स्वदेशी कि विदेशी भन्ने प्रश्न नउब्जने होइन । यसै हिसाबले पनि ठालु थरी थरीका हुने नै भए । असल पनि हुने भए खराब पनि हुने भए । राम्रा पनि हुने भए नराम्रा पनि हुने भए । दुष्ट पनि हुने भए प्रिय पनि हुने भए । ढोँगी पनि हुने भए यथार्थवादी पनि हुने भए । परिवेश अनुसार जस्ता प्रकृतिका पनि ठालु हुने नै भए । आजको समयमा सुकर्म गर्ने मात्र ठालु नभई कुकर्म गर्ने पनि ठालुमा नै गणना हुने गरेको छरपस्ट नै छ । नेता हुने गुण हुँदै नभएकाले आफूलाई नेता भनेर झ्याली पिटे जस्तो ।
आफ्नै नाम, आफ्नै काम, आफ्नै शैली, आफ्नै ढर्रा, आफ्नै टट्टु भए पनि समग्रमा ठालु भनेर चिनिने मान्छे जुँगेमुठे, धसिङ्गरे हुनुपर्ने वा चिपिच्याल्ल चकलेटी हुुनुपर्ने कुनै नियम छैन । जस्तोसुकै होस् ठालु भन्नेबित्तिकै ठुलो मान्छे भइहाल्यो । ठुला कोहीभित्र सकारात्मक भाव असलपन पनि हुन सक्ला । कोहीमा नकारात्मक भाव र खराबपन मात्र पनि होला । जेजस्तो भए पनि ती ठालु । हैकमवाला । प्रतिष्ठित । धनका धनी अर्थात् धनीमानी नै ठालु कहिन्छन् । धनका कारण मान पाएका तर पापी अपराधी पनि ठालुमै पुकारिन्छन् ।
सुज्ञानी मान्छे ठालुको भेषमा भएको भेउ मैले पाइरहेको छैन । कि कतै तपाईंले पाउनुभएको छ कि ? सुज्ञानीमा ठुलोपनको अहङ्कार नहुने हुनाले ती असल मान्छे कहलिने गर्दछन् । तिनलाई हामी साधुसन्त भन्ने गर्दछौँ । आधुनिक ठालुभित्र साधु सन्तको पन पाइँदैन । त्यो त व्रmेता युगका राजा जनकमा मात्र थियो । उनी राजा अर्थात् ठालु मात्र होइन सन्त पनि थिए । त्यसैले त देहधारी भईकन पनि विदेह भनेर पुकारिए ।
ठालु शब्दले ठुलो मान्छेको प्रतिनिधित्व गरिरहेको छ । अरूलाई निचोरेर आफू पुष्ट हुने पन नै हाम्रो समाजमा ठालुको अव्यक्त परिचय हो । अरूलाई दबाएर, दच्काएर, पन्छाएर, सिध्याएर, लतारेर, पछारेर हैकमको दबदबा देखाउने दुष्ट प्रवृत्तिलाई ठालुरूपी विशेषणले विभूषित गराइने गरिएको पाइन्छ । जो चिच्याउन जान्दैन, जो हकार्न जान्दैन, जो सोठ्याउन जान्दैन, जो कुल्चन जान्दैन, जो निमोठ्न जान्दैन, जोसँग लठैत हुँदैन त्यो ठालु हुँदैन । एक हिसाबले ठालुले शक्तिको प्रतिनिधित्व गरिरहेको हुन्छ । धन र शक्तिको मातमा मदहोस हुने गर्दछ ठालु । लठैत, विचरा लठैत दालभातका लागि ताबेदारी गर्दछ ।
ठालु हुन जुँगा र रूप चाहिँदैन । लुट्न, चुट्न, पिट्न, खेद्न, धकेल्न, निमोठ्न, भाँच्न, बिगार्न सक्ने आदि जस्ता गुण नै ठालुका खास परिचय हुन् अहिले । आधुनिक ठालुले डर, त्रास, दुःख, पीडा, हैरानी, अपमान जस्ता विषयको प्रतिनिधित्व गरिरहेको छ ।
गाउँको सङ्ख्या बिस्तारै घटेर सहरको सङ्ख्या विस्तार भइरहेको युग हो अहिलेको युग । पहिले गाउँमा ठालु हुन्थे । अहिले सहरमा पनि ठालु हुने गरेका छन् । गाउँका ठालु सानो माछा मार्छन् भने सहरका ठालु ठुलो माछा मार्ने गर्छन् । गाउँको ठालु र सहरको ठालुमा खासै फरक छैन । दुवै उस्तै उस्तै हुन् । पेसाको प्रकृति, मात्रा फरक हुुनु परिवेश एवं क्षमता अनुसार हुने कुरा भयो । सहरमा चलेको डन शब्द पनि ठालुकै पर्याय त हो नि होइन र भनेको ? कि होइन जस्तो लाग्छ तपाईंलाई ? होइन भने पनि केही छैन । परिभाषा, दृष्टिकोण आआफ्नै हुन सक्छ । डनको काम पनि त तर्साउने, धम्क्याउने, छकाउने, कुट्ने, पिट्ने, मार्ने नै त हो । अर्कालाई हानि पु¥याएर, पीडा दिएर आफ्नो उन्नति गर्ने, मोज गर्ने ।
धन, प्रतिष्ठा, शक्ति नभएको मान्छेले आफूबाहेक अरू कसैलाई पनि हैकम चलाउन सक्दैन । असल मान्छेले बिना मेहनत धन आर्जन गर्न सक्दैन । उसको मेहनतको धन उसलाई वर्षभरि गुजारा चलाउन पुगेस् पुगेस् हुने गर्दछ । मेहनतबिना धन आर्जन गरी हैकम चलाउने मान्छे बन्न सबै सक्दैनन् । यस्तो प्रकृतिको प्रतिनिधित्व ठालुले गरिरहेको हुन्छ । टुप्पोबाट पलाएको मान्छे प्रतिष्ठित ठालु हुने जमानामा हामी हुर्किरहेको अवस्था हो । फेदैबाट मतापसँग पलाई हुर्की बढेको मान्छे सहजै आफ्नो शील छाड्न सक्दैन ।
हुन त हरेक घरपरिवार समाजमा ठालु नहुने होइन, हुन्छ । कसैले भिन्न अप्रिय स्वभाव प्रदर्शन गरेमा ठालु पल्टेको भन्ने चलन नै छ । घरपरिवारमा बाबुआमा अभिभावकले सानामाथि देखाउने ठालुपनमा पूर्वाग्रह हुने गर्दैन । त्यसमा अनुशासन अर्थात् निष्ठाको पाठ पढाउन अवलम्बन गरिने सहृदयताभित्रको कठोरतासम्म झल्कने हो, जसले सन्तान कुबाटो नलागी सुबाटो समाऊन् । यो रक्षा शिक्षाको एउटा कडीसम्म मात्र हो । यस प्रकारको ठालुपनमा स्वार्थले जग नहाली निःस्वार्थपनको मिठास झल्किरहेको हुन्छ ।
ठालु एउटा पेसा पनि हो अहिले । टोले गुन्डादेखि राष्ट्रिय गुन्डासम्म गरी देशभर धेरै प्रकारका ठालु भेटिन्छन् देखिन्छन्, महसुस गरिन्छन् । हिजो जुन परिवेशमा ठालु शब्दको विकास भए पनि आज यो शब्द गुन्डासँग जोडिन पुगेको छ । गुन्डासँग जोडिनु भनेको दमनको पर्यायका रूपमा बुझिनु हो ।
हिजोका दिनमा पुर्खाले ठालु शब्दको चयन गर्दा यस शब्दमा नकारात्मक पनको अवस्था बिल्कुलै थिएन भन्ने अनुभूति हुन्छ । जान्ने, सुन्ने, बुझेको, गारो सारो पर्दा पैसा पनि खर्च गरिदिने मनकारी, प्रभाव पार्न सक्ने शक्तिसम्पन्न मान्छेका रूपमा यस ठालु शब्दलाई बुझ्ने गरिन्थ्यो । आजको दिनमा ठालु भन्नेबित्तिकै चट्ट, छट्ट, स्वार्थी, लुटाहा, पीडाकारी, अप्रिय मान्छेका रूपमा बुझिन्छ । सताउने मान्छेका रूपमा चिनिन्छ । सङ्गत गर्न नहुने मान्छेका रूपमा बुझिन्छ भन्ने मेरो महसुस गराइ छ । तपाईंलाई कस्तो लाग्छ ?