• १५ असार २०८१, शनिबार

स्थानीय तह निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रहरी महानिरीक्षक सिंहकाे प्रतिबद्धता

blog

काठमाडौं, वैशाख १८ गते । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा नवनियुक्त महानिरीक्षक सिंहले सो कुरा बताउनुभएको हो । 

‘‘अहिलेको प्रथमिकता भनेको स्थानीय तह निर्वाचन हो । निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट प्रत्येक नागरिकले आफ्नो बालिक मताधिकार प्रयोग गर्न सक्ने र निर्वाचन सुरक्षा योजनाहरु सम्पूर्ण प्रहरी र स्रोत साधनहरु प्रभावकारी रुपमा परिचालित हुनेछ ।,’’ उहाँले भन्नुभयो ।  

साथै, उहाँले नेपाल सरकारको प्रमुख लक्ष्य सफल पार्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ । 

‘‘मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने, विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्य सफल पार्न नेपाल प्रहरी प्रतिबद्ध छ ।,’’ उहाँले भन्नुभयो । त्यस्तै, राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवान र सम्पूर्ण सदस्य प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 

नेपाल प्रहरीले प्रवाह गर्ने सेवाको गुणस्तरीय र प्रभावकारिता बढाउन कर्मचारीहरुको वृद्धि विकासलाई प्राथमिकताका साथ अघि बढाउँदै साङ्गठनिक सुदृढीकरणमा जोड दिनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

महानिरीक्षक सिंहले सहरकेन्द्रित अपराधका चुनौती सामना गर्न प्रहरीलाई आधुनिकीकरण गर्नुको विकल्प नरहेको बताउनुभयो ।