• १ साउन २०८१, मङ्गलबार

आँबुखैरेनी-मनकामना सडक पाँच दिनदेखि अवरुद्ध

blog

पहिरोले अवरुद्ध सडक ।

गुणबहादुर रोका

सुलीकोट, साउन १ गते । गोरखाको आँबुखैरनी-मनकामना सडकखण्ड ५ दिनदेखि पहिराको कारण अवरुद्ध भएको छ। जिल्लाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने सडक खण्ड ढुङ्गा, माटो सहितका पहिरोले सडक नै बगाएपछि सवारी साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार अवरुद्ध भएको बाटो खुलाउन शहीद लखन गाउँपालिकाले पहल गरेता पनि सडकको भाग नै दरौदी र मस्याङदी नदीमा मिसिएकाले पानीको सतह नघटीकन सडक खुलाउन असहज भएको उहाँले बताउनुभयो। मुख्य सडकको भाग नै दरौदी र मस्याङदी नदीको दोभानमा भासिएको छ। 

बाहिर जिल्लाबाट र गोरखा सदरमुकामबाट ठुला सवारी साधनबाट यात्रा गर्ने यात्रुका लागि मनकामना जानेबाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।

अहिले सहिद लखन गाउँपालिका जाने रामशाह घाटबाट तीन मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ। त्यस सडकले शहीद लखन गाउँपालिकाको कार्यालय, नाम्जुङ, ग्याप्राङ, सिलिङ कल्लेरी, आरुबोट, डाँडा हुँदै मनकामना जाने बाटो बन्द हुन पुगेको हो।

यस सडकमा तत्काल सवारी साधन आबत जाबतमा गर्न कठिनाइ हुने सहिद लखन गाउँपालिकाले जनाएको छ। १, २ र वडा नम्बर ३ बक्राङका स्थानीयहरू सडक अवरुद्ध हुँदा प्रत्यक्ष मारमा परेका छन्। 

मनकामना जाने यात्रु मनकामना केबुलकार ५० दिन बन्द भएपछि सडक यात्रा भएर मनकामना पुग्ने गरेकोमा बाटो अवरुद्ध हुँदा लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।