• १ साउन २०८१, मङ्गलबार

विद्यार्थी समूहबीचको झडपमा बङ्गलादेशमा एक सयजना घाइते

blog

ढाका, असार ३१ गते । बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले बताएको छ । प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारीहरू र सत्तारूढ पार्टीप्रति बफादार विरोधी प्रदर्शनकारीबीच झडप भएको हो ।

कोटाविरोधी सयौँ प्रदर्शनकारी र सत्तारूढ अवामी लिग पार्टीको समर्थन गर्ने विद्यार्थीहरूले ढाका विश्वविद्यालय परिसरमा घन्टौँसम्म झगडा गरेको, ढुङ्गा हानेको, लाठीले लडाइँ गरेको र एकअर्कालाई फलामको रडले पिटेको प्रहरी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । केहीले चक्कु बोकेका थिए भने अन्यले पेट्रोल बम प्रहार गरेका थिए । 

कोटा प्रणालीले सन् १९७१ मा मुक्ति सङ्ग्रामका वीरहरूका सन्तानलगायत विशिष्ट समूहका लागि कूल लाखौँ सरकारी पदहरूको आधाभन्दा बढी निजामती पदहरू आरक्षित गर्दछ । 

स्थानीय प्रहरी स्टेसन प्रमुख मोस्ताजिरुर रहमानले भन्नुभयो, “उनीहरूले एकअर्कामा लाठी र ढुङ्गा प्रहार गरे ।” प्रहरी निरीक्षक मसुद मियाले भन्नुभयो, “महिलासहित करिब एक सय विद्यार्थी घाइते भएका छन्, उनीहरूलाई अस्पताल लगिएको छ र अझै पनि मानिसहरू अस्पताल आइरहेका छन् ।”

विद्यार्थीहरूले योग्यतामा आधारित प्रणालीको माग गर्दै यसै महिनाको प्रारम्भमा विरोध प्रदर्शन सुरु गरेका थिए । बङ्गलादेशको शीर्ष अदालतले कोटा योजना निलम्बन गरे पनि यो प्रणाली जारी छ । 

कोटाविरोधी प्रदर्शनकारीहरूले हिंसाका लागि सत्तारूढ पार्टीका विद्यार्थीहरू जिम्मेबार रहेको बताएका छन् । “उनीहरूले हाम्रो शान्तिपूर्ण जुलुसमाथि रड, लाठी र ढुङ्गाले आक्रमण गरे”, कोटाविरोधी प्रदर्शनका राष्ट्रिय संयोजक नाहिद इस्लामले भन्नुभयो, “उनीहरूले हाम्रा महिला प्रदर्शनकारीहरूलाई पिटे, ३० महिलासहित कम्तीमा एक सय ५० विद्यार्थी घाइते भएका छन् र २० जनाको अवस्था चिन्ताजनक छ ।”

आलोचकहरूले यो प्रणालीले प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकारका समर्थक समूहहरूका बालबच्चालाई मात्र लाभ हुने बताएका छन् ।

व्यापक बहिष्कार र आफ्ना राजनीतिक विरोधीहरूविरुद्ध ठूलो कारवाहीसँगै वास्तविक विपक्षी दलहरूबिनाको निर्वाचनमा छयत्तर वर्षीया हसिनाले जनवरीमा लगातार चौथो कार्यकाल जित्नुभयो । 

हसिनाको अपमानजनक टिप्पणीहरूको विरोधमा हजारौँ विद्यार्थीले आइतबार रातभरदेखि सोमबार बिहानसम्म एक दर्जन विश्वविद्यालयमा जुलुस निकालेका थिए । 

धेरै निजी विश्वविद्यायलका सयौँ विद्यार्थीले कोटाविरोधी नारा लगाउँदै ढाकामा विरोध प्रदर्शन गर्दा अमेरिकी दूतावास नजिक चार घन्टाभन्दा बढी सडक जाम भएको प्रहरीले बताएको छ ।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा पाकिस्तानी सेनाका सहयोगीहरूसँग आफूहरूलाई तुलना गरिएको प्रदर्शनकारीहरूले बताएका छन् । 

“यो अस्वीकार्य छ”, ढाका विश्वविद्यालयकी एक छात्राले प्रतिशोधको डरले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “हामी कोटा प्रणालीमा सुधार चाहन्छौँ जसबाट मेधावी विद्यार्थीहरूलाई उचित अवसर प्राप्त होस् ।”

विद्यार्थीहरूले जातीय अल्पसङ्ख्यक र अपाङ्गहरूलाई समर्थन गर्न छुट्याइएको छ प्रतिशत नोकरीलाई मात्र कायमै राख्नुपर्ने बताएका छन् । 

सन् १९७१ मा स्वतन्त्रता प्राप्तिपछि बङ्गलादेश विश्वको सबैभन्दा गरिब मुलुकमध्ये एक थियो तर सन् २००९ पछि हरेक वर्ष औसत छ प्रतिशतभन्दा बढीले आर्थिक वृद्धि भएको छ । 

यद्यपि उक्त वृद्धिको अधिकांश हिस्सा मुलुकको कपडा उद्योगलाई बल प्रदान गर्ने अधिकांश महिला कारखाना जनशक्तिका कारणले भएको हो र अर्थशास्त्रीहरूले विश्वविद्यालयका लाखौँ विद्यार्थीका लागि नोकरीको गम्भीर सङ्कट रहेको बताएका छन् । रासस, एएफपी