• १ साउन २०८१, मङ्गलबार

नागरिक उन्मुक्तिको दलको नेता फेरि परिवर्तन

blog

खुसीराम डगौरा थारु ।

प्रकाशविक्रम शाह

धनगढी, साउन १ गते। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले दल फेरि दलको नेता हटाएका छन्। 

उन्मुक्तिका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पक्षका दुई जना दलका नेतालाई हटाएर खुसीराम डगौरा थारुलाई दलको नेता बनाइएको छ। 

शनिबार भएको निर्णय सोमबार सार्वजनिक भए अनुसार रञ्जिता पक्षका कैलाश र  रेशम पक्षका घनश्याम चौधरीलाई हटाएर खुसीरामलाई दलको नेता बनाइएको हो। 

खुसीराम रेशम पक्षको प्रमुख सचेतक हुनुहुन्थ्यो। बैठकले उपनेतामा अध्यक्ष रञ्जिता पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको प्रमुख सचेतक थापाले पुष्टि गर्नुभयो। उपनेता कैलाश र प्रमुख सचेतक थापा अहिले नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको  प्रदेश सरकार मन्त्री समेत हुनुहुन्छ।

सात सदस्यीय संसदीय दलको बैठकमा लक्ष्मणकिशोर चौधरी, खुसिराम, कैलाश चौधरी र टीका थापा गरेर चार जना सहभागी थिए। बैठकमा घनश्याम, रामेश्वर चौधरी र इन्दिरा गिरी भने उपस्थित थिएनन्। 

प्रदेश सभा सदस्य गिरीले आफूलाई बैठक बारे जानकारी नदिइएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘खुसीरामजीले दलको नेता छानिए भनेर जानकारी गराउनु भएको थियो, म काठमाडौँमा छु धनगढी गएपछि उनलाई मान्ने कि नमान्ने बारे छलफल गर्छु।’ 

यसअघि संरक्षक रेशमलाल चौधरीलाई साथ दिइरहेका लक्ष्मणकिशोर र खुसिराम डगौरा थारु घनश्यामलाई दलको नेताबाट हटाउन तयार भएपछि दलको नेता परिवर्तन गर्न सहज भएको हो।