• १ साउन २०८१, मङ्गलबार

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

blog

काठमाडौँ, साउन १ गते । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो । आव २०७९/८० को नाफाबाट तत्कालीन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइनेछ । यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे तीन लाख सहभागीलाई करिब एक अर्ब ६६ करोड रुपियाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताउनुभयो ।

ब्याजदर परिवर्तन, कुन योजनाको कति ?
कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ । परिवर्तित ब्याजदर अनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ । यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ । यस अघि यसको ब्याजदर ८. ५ प्रतिशत थियो ।

नागरिक एकाङ्क योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ । यसैगरी, उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकाश कोष योजनामा ५.५०, नार्क बिमा कोषमा ६ र राष्ट्रसेवक जीवन बिमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

कर्जाको ब्याजदरतर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवाश कर्जामा ८.५०, सरल कर्जामा ९, र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ । यस पूर्व शैक्षिक कर्जामा ९.५०, आवाश कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो । कोषले सहभागीहरुलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रयमासमा पुनरवलोकन गर्ने गरेको छ ।