• १ साउन २०८१, मङ्गलबार

मुस्लिम बस्तीमा मोहर्रम मनाइँदै

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, साउन १ गते । मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यव्रmम गरी मोहर्रम मनाउँदै आएका छन् । बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव मोहम्मद हारुनले जानकारी दिनुभयो ।

उहाँले यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया (इमाम हसन र हुसैनको समाधिको प्रतीक) राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व भनिने गरिएको बताउनुभयो । बुधबार दिउँसो भव्य जुलुससहित ताजिया विसर्जन गरेपछि यो पर्व पूर्ण रूपमा सम्पन्न हुने छ । ताजिया राख्ने तयारीमा अहिले ताजिया राख्नेहरू जुटेका छन् । 

मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हारुनले चार दिनदेखि लगातार हरेक राति बाजागाजाको जुलुससहित नगर परिव्रmमा गरेर अलम मिलान, ढोल मिलान र आगोको मातम गरिने गरिएको बताउनुभयो । मङ्गलबार राति घर घरमा ताजिया राखिने र बुधबार जुलुससहित सेलाउने कार्यव्रmम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले जानकारी दिनुभयो ।

अध्यक्ष हलवाईका अनुसार मोहर्रमको नवौँ दिन मङ्गलबार राति ताजिया घर घरमा राखेर झिलिमिली पारी बजारलाई नै सिँगारिने छ । रातभरि स्थानीयले जाग्राम बसेर ताजियाको हरेचाह गर्ने छन् । बुधबार स्थानीय कर्बलामा लगेर विसर्जन गर्ने छन् । हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेन्डर अनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यव्रmम गरेर मनाइने यो पर्वमा उहाँहरूकै सम्झनामा ताजिया राखिने परम्परा छ । कागज र काठबाट बनाइएका ताजियालाई ९ तारिखमा आआफ्ना घरअगाडि स्थापना गरेर रातभरि जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नुअघि भाकल गर्ने र आफ्नो मनोकामना पूरा भएपछि ताजिया राख्ने गरिन्छ । मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्र्व धार्मिक सद्भावको पर्वका रूपमा स्थापित भइसकेको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले यो पर्वलाई शान्तिपूर्ण सम्पन्न गर्न जिल्लामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताउनुभयो । उहाँले रातिको समयमा जुलुस निस्किरहेकाले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै धार्मिक सद्भाव समितिलाई सव्रिmय बनाइएको बताउनुभयो ।