• १ साउन २०८१, मङ्गलबार

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरुका पूर्वराष्ट्रपति फुजिमोरी

blog

पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी

लिमा, असार ३१ गते । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने उहाँकी छोरीले आइतबार घोषणा गर्नुभएको छ ।

दक्षिण अमेरिकी देशको प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले भन्नुभयो, “मेरो बुबा र मैले कुराकानी गरेका छौँ र उहाँले राष्ट्रपतिपदको उम्मेदवार बन्ने निर्णय गर्नुभएको छ ।”

सन् १९९० देखि सन् २००० सम्म पेरुका राष्ट्रपति बनेका ८५ वर्षीय फुजिमोरीले पेरुको माओवादी छापामार समूह शाइनिङ पाथलाई पराजित गर्न सैन्य अभियानको नेतृत्व गर्दै कडा शासन गर्नुभएको थियो ।

उहाँलाई विद्रोहीहरूलाई दबाएर नवउदारवादी नीतिमार्फत आर्थिक वृद्धिलाई गति दिएको नेताका रूपमा उहाँ निकटस्थ समूहले स्मरण गर्ने गरेको छ ।

तर पेरुको शाइनिङ पाथलगायतका कतिपय वामपन्थी दलले उहाँलाई निर्दयी, अधिनायकवादी शासन शैली अपनाएको एक भूतपूर्व राष्ट्रपतिका रूपमा उहाँको आलोचना गर्ने गरेका छन् ।

सन् १९९१ र सन् १९९२ मा सेनाको डेथ स्क्वाडले गरेको नरसंहारको आरोपमा उहाँलाई सन् २००९ मा जेल सजाय भएको थियो । शाइनिङ पाथविरूद्धको अभियानका क्रममा उहाँको नेतृत्व रहेका समय एक बच्चासहित २५ जना मारिएका कारण उहाँलगायत केही अधिकारीलाई फरक फरक जेल सजाय भएको थियो ।

फुजिमोरी दोषी ठहरिएका कारण चुनावमा भाग लिन पाउनुहुन्छ वा पाउनुहुन्न भन्ने स्पष्ट छैन । उहाँलाई गत वर्ष मानवीय कारण देखाउँदै गत वर्ष रिहा गरिएको थियो ।

पेरुको संवैधानिक अदालतका पूर्व न्यायाधीश अर्नेस्टो ब्लुमले प्रसारणकर्ता क्यानाल एनसँग भन्नुभयो, “मानवीय कारणले उहाँलाई माफी दिइएको हो, तर यसको अर्थ उहाँको अपराध वा सजाय पूरा भएको वा खारेज भएको भन्ने होइन ।”

फुजिमोरीले सन् २०१८ मा चिकित्सकले उहाँको फोक्सोमा ट्युमर भएको पत्ता लगाएको जानकारी गराउनुभएको थियो । गत महिना घरमा लडेर कम्मर भाँचिएपछि उहाँलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको खुलासा भएको थियो ।

दक्षिणपन्थी पपुलर फोर्स पार्टीको नेतृत्व गरिरहेकी केइको फुजिमोरीले हालै आफ्ना पिता जिब्रोको ट्युमरबाट पीडित भएको बताउनुभएको थियो । रासस/एएफपी