• १ साउन २०८१, मङ्गलबार

नवनियुक्त महिलामन्त्रीद्वारा पदभार ग्रहण

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी पदभार सम्हाल्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मङ्गलबार पदभार सम्हाल्नुभएको छ । पदभार सम्हालेसँगै उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन ।”

यसअघि उहाँ वन तथा वातावरणमन्त्री हुनुभएको थियो । विसं २०४७ देखि राजनीतिमा सक्रिय उहाँ जनता समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ । उहाँ २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । सप्तरीको हनुमाननगर कङ्कालिनी–९ मा बुबा भोलाप्रसाद साहु र आमा कौशल्या देवीको कोखबाट २००५ सालमा सुडीको जन्म भएको हो । रासस