• १ साउन २०८१, मङ्गलबार

प्राध्यापकबाट राजनीतिमा सक्रिय विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

blog

पदभार ग्रहणपछि शिक्षामन्त्री विद्या भट्टराई । तस्बिर : केशब गुरुङ

फडिन्द्र अधिकारी

लेखनाथ, असार ३१ गते। वि. सं. २०७२ मा खुला प्रतिस्पर्धाबाट त्रिवि सेवा आयोग पास गर्दा विद्या भट्टराईको सपना थियोः कुनै दिन प्राध्यापक बन्छु। विद्यार्थीलाई समाज र यसका अवयव सिकाउँछु। २०७५ साल फागुन १५ गतेको अनपेक्षित दुर्घटनाले उहाँको जीवनको बाटो मोडिदियो। घटनापछि फेरि सक्रिय राजनीतिमा लाग्नुभएकी भट्टराई दुई पटक कास्की क्षेत्र नम्बर २ बाट सङ्घीय सांसद चुनिनुभयो। सोमबार गठित मन्त्रिमण्डलमा उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। 

उहाँका जीवनसाथी, लोकप्रिय नेता तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि नेकपा (एमाले) ले कास्की २ बाट उहाँलाई उम्मेदवार बनाएको थियो। त्यसअघि राजनीतिमा सक्रिय हुँदाहुँदै अधिकारीसँग विवाह भएपछि उहाँ पारिवारिक जिम्मेवारी निर्वाह गर्दै सक्रिय राजनीतिबाट टाढिनुभएको थियो।

 

२०४२ सालमा कक्षा ७ मा पढ्दादेखि नै अनेरास्ववियुमा सङ्गठित उहाँ अनेमसङ्घको जिल्ला कार्यसमिति कोषाध्यक्ष हुँदै २०४९ र २०५१ मा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बन्नुभएको थियो। २०५५ मा अनेरास्ववियु केन्द्रीय सचिव हुँदै उहाँ अनेमसङ्घ र बुद्धिजीवी परिषदमा पनि सक्रिय हुनुहुन्थ्यो। 

पतिको निधनपछि अर्को वर्षको उपनिर्वाचनमा त्रिभुवन विश्वविद्यालयबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएको थियो। एमालेको बलियो सङ्गठन र पतिको लोकप्रियता पनि त्यो बेलाको चुनावमा जितका सहायक थिए। केहीले सहानुभूतिले जित भएको दाबी गरेका थिए। नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेललाई आठ हजारभन्दा बढी मतान्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको थियो। 

सार्वजनिक रूपमा उहाँले फेरि सांसद बन्ने इच्छा नभएको बताउने गर्नुभएको थियो। २०७९ सालको आम निर्वाचनमा फेरि एमालेले उहाँलाई पुरानै क्षेत्रबाट उम्मेदवार बनायो। उहाँलाई राजनीतिबाट केही विश्राम लिएर विद्यावारिधि गर्ने रहर थियो। फेरि पनि उहाँको रहर दोस्रो प्राथमिकतामा पर्‍यो, उहाँ उम्मेदवार हुँदै सांसद बन्नुभयो। 

अध्ययनशील, सरल, विनम्र र शालीन भट्टराईले पहिलो कार्यकालमा आफ्नो क्षमताको परिचयमात्र दिनुभएको थिएन, आफूलाई लोकप्रिय नेताको रूपमा पनि स्थापित गर्नुभएको थियो। फलस्वरुप दोस्रो पटक पनि उहाँ निर्वाचित हुनुभयो। पाँचदलीय गठबन्धनका साझा उम्मेदवारलाई हराउनु र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको आकर्षणलाई पनि रोक्नु उहाँका लागि निकै चुनौतीपूर्ण थियो। भट्टराई १६ हजार नौ सय ९८ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिस्पर्धी रास्वपाका माधव कँडेलले १२ हजार चार सय ९५ मत पाउनुभएको थियो।


निर्वाचित भएपछि उहाँलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो। सत्ता गठबन्धनका कारण उपसभामुखको बन्न नसके पनि उहाँको सफलता र व्यक्तित्वको एउटा सिँढी त्यो पनि थियो। अहिले एमाले र नेपाली कांग्रेससहितको बलियो सत्ता गठबन्धनमा अधिकारीले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। 

प्राध्यापन छाडेर राजनीतिमा आउनुभएकी भट्टराईलाई अब देशकै शिक्षा क्षेत्र सुधार्ने र जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी छ। उहाँ अहिले विद्यावारिधिको विद्यार्थीसमेत हुनुहुन्छ। एक कुशल पूर्वप्राध्यापक, समाजशास्त्री र अनुसन्धान तहका विद्यार्थीको हातमा देशको शिक्षाको नेतृत्व पुगेको छ। २०२९ मा काठमाडौँमा जन्मिएकी भट्टराईले बेला बेलामा देशका समसामयिक समस्या, कास्की र गण्डकी प्रदेशका सरोकारका विषयमा सदनमा आवाज उठाउँदै आउनुभएको छ।