• १ साउन २०८१, मङ्गलबार

नियमले नमिल्ने कुरामा मैले दबाब दिन्न : वन मन्त्री ठकुरी

blog

वन तथा वातावरण मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी।

काठमाडौँ, असार ३१ गते। नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले हिमाली क्षेत्रको पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न आफूले सबै खालका प्रयास गर्ने बताउनुभएको छ। 

सोमवार मन्त्रालयमा पद बहाल गर्ने क्रममा जलवायु परिवर्तनको असर नेपाललाई नखाएको विष लागे झैँ भएको बताउँदै मन्त्री ठकुरीले भन्नुभयो, ‘‘यसका लागि विगतका भए, गरेका प्रयासमा टेकेर नयाँ ढङ्गले नेपालले गर्नुपर्ने काममा कुनै कसर बाँकी राखिने छैन।’’

उहाँले मन्त्रालयको हाताभित्र रहेको बगैँचामा रुद्राक्षको बोट रोपेर आफ्नो कार्यकालको सुरुवात गर्नुभयो। उहाँले भन्नुभयो, पदबहाल भनेकै सिर्जनात्मक र सकारात्मक कामबाट सुरु गरिने परम्परा छ। त्यसैले वन तथा वातावरण संरक्षणका लागि वृक्षरोपण गरेर कामको थालनी गरेको छु। 

उहाँले पद बहाल गर्ने क्रममा जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न, द्विपक्षीय तथा बहुपक्षीय वार्ता, सम्झौता तथा समन्वय गर्न एउटा स्थायी संरचना निर्माण गरिने निर्णयमा हस्ताक्षर गर्नुभयो। 


सो संरचनामा वन तथा वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा जलवायु परिवर्तनसँग सरोकार राख्ने वन, वातावरण मन्त्रालयका सहित अन्य मन्त्रालयका उच्च अधिकारी, विषयविज्ञ सहितलाई समेटिने भएको छ। जसले गर्दा जलवायु कोषको रकम नेपाल भित्र्याउन, नेपालको हिमालको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने अपेक्षा राखिएको छ। 

मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले नियम, कानुनले मिल्ने बाहेकका काममा ध्यान नदिन पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, ‘‘कानुनले नमिल्ने कुरामा मैले दबाब दिने छैन। कानुनले मिल्ने कुरामा कर्मचारीहरूले आनाकानी गर्न पाइँदैन।’’

मुगु जिल्लाबाट पहिलो पटक प्रत्यक्ष निर्वाचित हुनुभएका ठकुरी शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आउनु भएको हो। नेपाली कांग्रेस मुगु जिल्लाको तीन पटक जिल्ला सभापति भइसक्नु भएका ठकुरीले वनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउने कुरामा योजना बनाउनु पर्नेमा पनि जोड दिनुभयो। 

उहाँले स्वदेशमा प्रशस्त काठ हुँदाहुँदै विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि आफूले काम थाल्ने पनि बताउनुभयो। 

सो अवसरमा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा वन मन्त्रालयले हालसम्म अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा नीति निर्माण तहमा गर्दै आएको काम र सहसचिव बद्री ढुङ्गानाले मन्त्रालय र मन्त्रालयका मातहतका निकायले सम्पादन गर्ने कुराका जानकारी दिनुभयो।