• १३ साउन २०८१, आइतबार

बुटवलको चुनावी नारा : सुकुम्बासी समस्या समाधान

blog

बुटवल उपमहानगरपालिका–११ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन उम्मेदवार । तस्बिरः छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, वैशाख १९ गते । बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई प्रमुख चुनावी नारा बनाएका छन् ।   सत्ता गठबन्धनका तर्फबाट बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान नै रहेको बताउनुभयो ।

उहाँले तिनाउ नदी किनारको जोखिमयुक्त बस्तीलाई व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । बुटवलमा लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम उद्घाटन गर्दै उहाँले गठबन्धनले जितेमा सबै वडामा समान ढङ्गले विकासको खाका कोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवललाई आर्थिक राजधानी बनाउने समेत बताउनुभयो ।उहाँले आफूले भनेका कुरा पूरा भएनन् भने आगामी दिनमा आफूहरू भोट माग्न नआउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले तिनाउ कोरिडोरमा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने,  मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँका जनताको समेत साथ लिने बताउनुभयो । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा नेपालबीच चुनावी गठबन्धन छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि बुटवल क्षेत्रको सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रतिबद्धतालाई प्रमुख चुनावी नारा बनाएको छ । नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईले सुकुम्बासी र अव्यवस्थित बसोबास बुटवलको वर्षौंदेखिको समस्या भएको बताउनुभयो ।

उहाँले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा (एमाले)का उम्मेदवारहरूले बुटवलको विकासका लागि जारी गरेको सात सङ्कल्पको चौथो नम्बरमा सुकुम्बासी

समस्या समाधान गर्ने प्रतिबद्धता रहेको छ । एमालेको पहिलो एजेन्डामा बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने रहेको छ । बुटवलमा उद्योग, व्यापार अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका सम्भावनालाई उजागर गर्ने, त्यस अनुरूपका पूर्वाधार बनाउने रहेको प्रमुख उम्मेदवार भट्टराईले उल्लेख गर्नुभयो । 

त्यसैगरी मोतीपुर औद्योगिक करिडोरबाट प्रभावित नागरिकको हक सुरक्षित गर्ने, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीतिसमेत एमाले बुटवलको रहेको छ । त्यस्तै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङले सुकुम्बासी समस्या बुटवलको प्रमुख समस्याका रूपमा रहेको बताउनुभयो ।उहाँले सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उता राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार मृगेन्द्र शेरचनले विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।