• १२ साउन २०८१, शनिबार

त्रिविको विगत र वर्तमान

blog

त्रिविको स्थापनापूर्वका कलेज पूर्ण रूपले पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित थिए । त्रिविको स्थापनासँगै नेपाली सरहदभित्रै विश्वविद्यालय स्तरको शिक्षा सम्भव भयो । स्थापनाताका सरकारी कलेजको सङ्ख्या छ वटा र सरकारी आर्थिक सहायता प्राप्त कलेजको सङ्ख्या १८ वटा थिए । 

“म आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दै छु,” यो उद्गार चन्द्रशमशेरले चि–त्रन्द्र कलेज उद्घाटन गरेपछि भनेका हुन् । राणाकालमै उच्च शिक्षाको श्रीगणेश भयो । २०१२ सालमा त्रिवि कमिसन स्थापनासँगै आफ्नै विश्वविद्यालयबाट मुलुकभित्रै उच्च शिक्षा प्रदान गर्न मार्गप्रशस्त भएको हो । २०१५ आषाढ शुक्ल नवमीका दिन नेपालमा पहिलो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालय शिलान्यास गरियो । मुलुककै शिक्षाको सर्वोच्च संस्थाले आजपर्यन्त यसै तिथिलाई आफ्नो दिवस मनाउँदै आएको छ ।

६६ औँ दिवसमा आइपुग्दा प्राज्ञिक जगत्मा निकै आरोह अवरोह यस संस्थाले पार गरेको छ । विश्वकै ठुलो (विद्यार्थी भर्नाका आधारमा), मुलुककै जेठो, बहुविषय प्राध्यापन हुने यस विश्वविद्यालयमा समस्या नभएका होइनन् । राष्ट्रको एकल विश्वविद्यालयका रूपमा २८ वर्षसम्म उच्च शिक्षा यसले प्रदान ग¥यो । आज पनि सेवामा समर्पित छ र भविष्यमा पनि दिने नै छ । सन् १९८० को दशकमा राज्यले नै बहुविश्वविद्यालयको नीति लिएपछि महेन्द्र संस्कृत विश्वविद्यालय हुँदै राजर्षि जनकसम्म आइपुग्दा ११ वटा विश्वविद्यालय छन् । प्रादेशिक सात विश्वविद्यालय गरी १८ विश्वविद्यालय नेपाली सरहदभित्र खोलिए । प्रादेशिक विश्वविद्यालय सन् २०१९ देखि २०२४ सम्म खोलिए । अध्ययन, अनुसन्धान, 

औचित्य र आवश्यकताका आधारमा खोलिँदा अति उत्तम हुन्छ । गण्डकी विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी, विद्यार्थी कसैको पनि सङ्गठन र युनियनको प्रावधान नरहेको तथा प्रधानमन्त्री कुलपति नभएर सम्पूर्ण अधिकार ‘बोर्ड अफ ट्रस्टिज’ (न्यासिक परिषद्) मा केन्द्रित गरिएको छ । एक पटकका लागि मुख्यमन्त्रीबाट कुलपतिको नियुक्ति भए पनि अबउप्रान्त कुलपतिको नियुक्तिसमेत न्यासिक परिषद्बाट हुने भन्ने नियम बनेको छ । कुनै पनि नीतिगत नियम बनाउने तथा बाधाअड्चन फुकाउनुप¥यो भने न्यासिक परिषद्बाट हुन्छ, जसको प्रतिफल लामो सरकारी प्रव्रिmयाबाट गुज्रनु पर्दैन र काम छिटोछरितो ढङ्गले सम्पन्न हुन्छ ।

अर्कोतर्फ मुलुकभर १८ विश्वविद्यालय खोलिँदा पनि त्रिविमै चाप भएको सुस्पष्ट रूपमा तथ्याङ्कले इङ्गित गर्छ । मुलुकभरिको विश्वविद्यालयमध्ये त्रिविमा मात्रै लगभग ८० प्रतिशत विद्यार्थी पठनपाठनका लागि भर्ना हुन्छन् र बाँकी २० प्रतिशत १७ वटा विश्वविद्यालयमा छरिन्छन् । शिक्षाको क्षेत्रमा विश्वप्रख्यात एक उक्ति छ– अन्नबालीका निमित्त छमहिने योजना, त्यसै गरी फलफूलका निमित्त १० बर्से योजना र शिक्षाका निमित्त सय बर्से योजना बनाउनु पर्छ । नेपालको सन्दर्भमा मात्रै नभई, यो उक्ति सबैतिर उपयोगी छ । हाम्रो सन्दर्भमा विश्वविद्यालय अध्ययन, अनुसन्धान र औचित्यका आधारभन्दा पनि लहड र हचुवाका भरमा खोलिएको प्रतीत हुन्छ । 

त्रिवि स्थापनापूर्वका कलेज पूर्ण रूपले पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित थिए । त्रिवि स्थापनासँगै नेपाली सरहदभित्रै विश्वविद्यालय स्तरको शिक्षा सम्भव भयो । स्थापनाताका सरकारी कलेजको सङ्ख्या छ वटा (त्रि–चन्द्र कलेज, दरबार कलेज, संस्कृत महाविद्यालय, पद्मकन्या कलेज, पाटन कलेज र कलेज अफ एजुकेसन) र सरकारी आर्थिक सहायता प्राप्त कलेजको सङ्ख्या १८ (धनकुटा डिग्री कलेज, पृथ्वीनारायण डिग्री कलेज, जनकपुर डिग्री कलेज, जनकपुर डिग्री कलेज, ठाकुरराम डिग्री कलेज आदि) थिए । 

यसप्रकारले सरकारी कलेज छ वटा र सरकारी सहायता प्राप्त कलेजको सङ्ख्या १८ समेत जम्मा २४ रहेको प्रस्ट हुन्छ । कतै सरकारी सहायता प्राप्त कलेजको सङ्ख्या बढी पनि देखाइएको छ । वर्तमानमा त्रिवि अन्तर्गतका आङ्गिक क्याम्पसको सङ्ख्या ६२ छ, जुन देशको सातै प्रदेशमा फैलिएको छ । 

२०१६ साल पुस १५ गते त्रिभुवन विश्वविद्यालय कमिटीको एघारौँ बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन हेतु एउटा परीक्षा बोर्ड गठन गरेको थियो । पहिलो परीक्षा सन् १९६० मा पटना विश्वविद्यालयकै प्रमुखको सहयोगमा सम्पन्न गरिएको थियो । परीक्षामा प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसमेत पटना विश्वविद्यालयबाटै सम्पन्न गरी परीक्षाफल प्रकाशन तथा लब्धाङ्कपत्र वितरण, दीक्षान्त समारोह आयोजना गरी प्रदान गरिएको थियो । पछि सन् १९६१ को परीक्षाको सम्पूर्ण चाँजोपाँजो त्रिविले मिलाउन थाल्यो । 

हाल सेमेस्टर प्राणाली अन्तर्गतको सम्पूर्ण परीक्षा सम्बन्धित डिन कार्यालयले र वार्षिक प्रणालीका परीक्षा नियन्त्रण कार्यालयबाट सम्पन्न हुन्छन् । वार्षिक प्राणालीतर्फ समयमा परीक्षाफल प्रकाशित नहुने समस्या बर्सौंदेखिको छ । तथापि सुधारका प्रयास नभएका होइनन् । परीक्षा प्रणालीमा सुधार्न १३ सदस्य परीक्षा प्रणाली सुधार तथा समन्वय समिति गठन त्रिविका शिक्षाध्यक्षको अध्यक्षतामा पहिल्यैै गरिएको छ । यसले परीक्षा सुधारका लागि नीति निर्माण गर्छ । त्यसो त परीक्षा नियन्त्रण कार्यालयमा पूर्णकालीन कार्य गर्ने प्रमुखका रूपमा उपकुलपतिबाट नियुक्त हुने परीक्षा नियन्त्रक रहने व्यवस्था छ । परीक्षा नियन्त्रण कार्यालयबाट मुख्यतः वार्षिक प्रणाली अन्तर्गत सम्पूर्ण तहका परीक्षा सञ्चालन हुन्छ । साथै दीक्षान्त समारोह आयोजना पनि यसै निकायबाट हुने गर्छ । हालसालै त्रिविले परीक्षा प्रणालीमा अभूतपूर्व कदम चालेको छ । २०८१ जेठ ४ बाट सञ्चालित परीक्षाको उत्तरपुस्तिका परीक्षण क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाटै गर्ने र तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने भनिएको छ । परीक्षा बोर्ड÷समिति हुँदै २०३८ सालमा आफ्नो वर्तमानको स्वरूप ग्रहण गरेको हो– परीक्षा नियन्त्रण कार्यालयले । यसप्रकार क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आनो क्षेत्रको उत्तरपुस्तिका सङ्कलन र परीक्षणसमेत हुने भएकाले परीक्षाफल प्रकाशनमा सहज हुने पक्का देखिन्छ । 

सन् १९६१ मार्च २२ (२०१७ चैत ९) का दिन ऐतिहासिक पहिलो दीक्षान्त समारोह सुसम्पन्न भयो । प्रमुख अतिथिका रूपमा भारतीय विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष सिडी देशमुखलाई आमन्त्रित गरिएको थियो । उनी पहिलो अध्यक्ष र पूर्वअर्थमन्त्री थिए । स्मरणीय के छ भने विद्यार्थीलाई दीक्षित गरिएको प्रमाणपत्रमा कुलपति कान्ति राज्यलक्ष्मीदेवी शाह र सहकुलपति ईश्वरी राज्यलक्ष्मीदेवी शाहको हस्ताक्षर छ । रजिस्ट्रारको हस्ताक्षर सम्मिलित सो प्रमाणपत्रमा उपकुलपतिको भने हस्ताक्षर छैन । हालसम्म (२०१७–२०८० सालसम्म) त्रिविबाट ४९ औँ दीक्षान्त समारोह सम्पन्न भइसकेको छ ।

त्रिवि स्थापनार्थ तयार गरिएका विश्वविद्यालय ऐन २०१६ ले “......कला एवं विज्ञानमा र अरू व्यावसायिक क्षेत्रमा ज्ञान र अनुसन्धानको वृद्धि गर्ने” भनी त्रिविको लक्ष्य अनुसन्धानमा पनि केन्द्रित गरिएको छ । अध्ययन अध्यापनसँगै अनुसन्धानलाई समेत स्थापनाकालदेखि नै जोड दिएको पाइन्छ । २०१९ सालमा ‘बोर्ड अफ पोस्ट ग्य्राजुएट स्टडिज एन्ड रिसर्च’ उपकुलपतिको अध्यक्षतामा गठन गरिएको थियो । हाल शिक्षाध्यक्षको अध्यक्षतामा अनुसन्धान समन्वय तथा विकास परिषद् (आरसिडिसी) को गठन गरिएको छ । अनुसन्धान निर्देशनालयलाई यसको सचिवालय बनाइएको छ । 

त्रिभुवन विश्वविद्यालय यथार्थमै सातै प्रदेश, ७७ जिल्ला, हिमाल, पहाड, तराई तिनै भौगोलिक प्रदेश, उच्च, मध्यम र निम्न तिनै वर्गको साझा रोजाइको एकमात्र बहुआयामिक विश्वविद्यालय हो । प्राध्यापक, कर्मचारी, विद्यार्थीको त्रियोगात्मक प्रयासबाट मात्र विश्वविद्यालय कुशलतापूर्वक सञ्चालन हुन सक्छ ।


Author

सुमन्त घिमिरे