• ७ पुस २०८१, आइतबार

प्रजातन्त्रपछिको पहिलो स्थानीय निर्वाचन

blog

काठमाडौँ, वैशाख १९ गते । स्थानीय तहको निर्वाचनमा देशभरिबाट एक लाख ४५ हजार २२३ ले उम्मेदवारी दिएका छन् । तीमध्ये ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । निर्विरोध निर्वाचित भइसकेहरूको निर्वाचन आयोगले आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न बाँकी छ । देशभरिका ७५३ स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । 

सबै उम्मेदवारले धरौटीबापतको रकम फिर्ता पाउनसक्ने अवस्था पक्कै रहँदैन । मुलुकमा प्रजातन्त्र प्राप्तिपछि पहिलो पटक (२०१० सालमा) सम्पन्न भएको काठमाडौँ नगरको स्थानीय निर्वाचनमा २६ जनाको धरौटी जफत भएको थियो । त्यो बेला मतको आठ खण्डको एक खण्ड प्राप्त गर्न नसक्ने धरौटी जफत हुने व्यवस्था थियो । त्यो निर्वाचनमा धरौटीबापत ५० मोरु कायम गरिएको थियो र जफत भएको रकम राज्यकोषमा जम्मा गरिएको थियो । २०१० सालको स्थानीय निर्वाचनमा काठमाडौँ नगरमा ५३ प्रतिशत मत खसेको थियो । 

कुनै जनता पनि कसैको धम्कीमा नलागी आफ्नो भित्री मनले देशको सुव्यवस्था गर्लान् भन्ने जस्तो लागेको मानिसलाई मतदान दिनुहोला । सो मतदान दिन नगरपालिकाको र चुनाव अफिसरको छाप लागेको वार्ड नम्बरसमेत भएको वाएलेट पेपर दिने हुँदा सो पेपर लिई मत प्रदान गर्नुहुने नै छ भन्ने अनुरोध छ ।

सरकारले २०१० साल साउन २३ गते गोरखापत्रको पहिलो पृष्ठको सिरानमा सूचना जारी गरेको थियो– भाद्र १७ गते काठमाडौँ नगरपालिकाको निर्वाचन दिवस हो । यस दिन आफ्नो अमूल्य मतको उपयोग गर्दै योग्य व्यक्तिहरूलाई छान्नुहोस् । स्वायत्त शासन प्रजातन्त्रको जग हो । जग बलियो भो भने मात्र महल खडा र दिगो हुनेछ । उपेक्षा एवं पक्षपातले पश्चाताप मात्र प्राप्त हुनेछ ।

स्थानीय निर्वाचन सबैभन्दा पहिले राणा शासनमा २००४ सालमा काठमाडौँमा सम्पन्न भएको थियो । त्यसका प्रमुख अर्थात् चेयरम्यान राणा शासकका तर्फबाट मनोनीत गरिएको थियो भने उपप्रमुख अर्थात् भाइस चेयरम्यान निर्वाचित जनप्रतिनिधिबाट बनाइएको थियो । भदौ १७ गते काठमाडौँ नगरमा निर्वाचन भएको थियो भने वीरगञ्ज नगरपालिकाको साउनमै निर्वाचन भएको थियो । साउन १८ गते भएको निर्वाचनको नतिजाअनुसार वीरगञ्ज नगरपालिकाको वडा नम्बर १ को सदस्यमा केशरप्रसाद मानन्धर, वडा नम्बर २ मा शम्भुबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा चिरन्जीविलाल अग्रवाल, वडा नम्बर ४ मा डा. गोपालचन्द्र अधिकारी, वडा नम्बर ५ मा महानन्द उपाध्याय र वडा नम्बर ६ को सदस्यमा भूपेन्द्रलाल नेपाली निर्वाचित हुनुभएको थियो । उहाँहरूमध्ये अग्रवाल र उपाध्याय निर्विरोध हुनुभएको थियो । 

भदौ १६ गते वीरगञ्जमा नगरपालिकाको सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा अध्यक्ष पदका लागि शम्भुबहादुर श्रेष्ठ, केशरप्रसाद मानन्धर र महानन्द उपाध्याय उम्मेदवार हुनुभएको थियो । तीनै जनाले दुई÷दुई मत प्राप्त गर्नुभयो । दोस्रो पटक पुनः निर्वाचन गर्नुपर्ने भयो । छनोट विधिका रूपमा गोलाप्रथालाई अपनाइयो । गोला हाल्दा मानन्धरले वीरगञ्ज नगरपालिकाका पहिलो निर्वाचित प्रमुख बन्ने अवसर प्राप्त गर्नुभयो ।  यता काठमाडौँ नगरपालिकाको निर्वाचनमा मताधिकार भएकाहरूको सूची निर्वाचन हुनु १० दिनअगाडि सार्वजनिक गरियो । त्यो बेला काठमाडौँ नगरलाई १८ वटा वडामा विभाजन गरिएको थियो । जबकी २००४ सालमा २१ वडा थिए । 

स्थानीय स्वायत्त शासन मन्त्रालयले त्यसबीचमा विज्ञप्ति जारी गर्यो, “यही भाद्र १७ गते काठमाडौँ नगरपालिकाको चुनाव हुने निश्चित भएको र मत प्रदान गर्ने ठाउँमा उम्मेदवारहरूको नाम टाँसिएको विभिन्न रङका बाकसहरू राखिएको ठाउँ गुप्त तरिकाले रहनेछ । कुन मानिसले कसलाई मत दियो भन्ने कसैले थाहा नपाओस् भन्नाका लागि मतदाताहरूलाई पनि १-१ जनाका हिसाबले मत प्रदान गर्ने ठाउँमा पठाइनेछ । त्यस कारण कुनै जनता पनि कसैको धम्कीमा नलागी आफ्नो भित्री मनले देशको सुव्यवस्था गर्लान् भन्ने जस्तो लागेको मानिसलाई मतदान दिनुहोला । सो मतदान दिन नगरपालिकाको र चुनाव अफिसरको छाप लागेको वार्ड नम्बरसमेत भएको वाएलेट पेपर दिने हुँदा सो पेपर ली मत प्रदान गर्नुहुने नै छ भन्ने अनुरोध छ । साथै चुनावमा कुनै किसिमको हुलदङ्गा इत्यादि नल्याई पूरा प्रजातान्त्रिक ढङ्गबाट चुनाव सफल गराउनुहोला भन्ने अपिल छ ।” 

स्थानीय स्वायत्त शासन मन्त्रालयले ‘पोलिङ बुथ बाकस’ राखिने स्थानका बारेमा सार्वजनिक जानकारी दिएको थियो । पोलिङ बुथको साथमा रहने अफिसरहरूले याद गर्नुपर्ने काम भनी विभिन्न जिम्मेवारी किटान गरिएको थियो । ५० गजसम्मको क्षेत्रमा प्रचार गर्न नदिने प्रबन्ध मिलाउनुपर्ने, मतदाताले वालेट पेपर लिई मत खसाल्न जाँदा आधा मिनेटभन्दा बढी लगाएमा शङ्का लागे पोलिङ अफिसरले जाँच्न पाउने, भोटिङ साँझ ६ बजेसम्म सिध्याउनुपर्ने लगायतका बुँदा निर्देशनमा उल्लेख गरिएको थियो ।

भदौ १७ गते बिहान ७ देखि साँझ ६ बजेसम्म मतदान गर्न पाउने व्यवस्था गरियो । काठमाडौँका १७ वडाका ५६ हजार मतदाता थिए । एउटा वडामा निर्विरोध निर्वाचित भएकाले १७ वडामा मात्र मतदान गर्नुपरेको थियो । ती वडामा ५६ मतदान केन्द्र कायम गरिएको थियो । जम्मा १८ सिटका लागि ७३ उम्मेदवार थिए । सो दिनका लागि काठमाडौँ इलाकामा बिदा घोषित गरिएको थियो । 

काठमाडौँ नगरपालिका चुनाव अफिसका इलेक्सन अफिसर बनाइनुभएका डेपुटी सेक्रेटरी गेहेन्द्रबहादुर राजभण्डारीले एक महिलासहित वडा सदस्यहरू निर्वाचित भएको घोषणा गर्नुभयो । वडा नम्बर १ मा शुभशमशेर, वडा नम्बर २ मा जनकमान बीए, वडा नम्बर ३ मा प्रयागराज, वडा नम्बर ४ मा मणिराज उपाध्याय, वडा नम्बर ५ मा गोविन्दप्रसाद वैद्य, वडा नम्बर ६ मा अष्टमङ्गल बज्राचार्य, वडा नम्बर ७ मा मोहनबहादुर, वडा नम्बर ८ मा साधना देवी, वडा नम्बर ९ मा अमिरबहादुर सिंह, वडा नम्बर १० मा सूर्यबहादुर निर्वाचित हुनुभयो ।

त्यस्तै वडा नम्बर ११ मा गोपालेश्वरानन्द, वडा नम्बर १२ मा नारायणजङ्ग पाण्डे, वडा नम्बर १३ मा प्रचण्डनरसिंह राणा, वडा नम्बर १४ मा बोधनाथ चालिसे, वडा नम्बर १५ मा घनामान उपाध्याय, वडा नम्बर १६ मा घनानाथ उपाध्याय, वडा नम्बर १६ मा शेरबहादुर र वडा नम्बर १८ मा पुष्करनाथ उप्रेती निर्वाचित हुनुभयो । वडा नम्बर १५ मा घनानाथ निर्विरोध निर्वाचित हुनुभएकोले त्यस वडामा मतदान भएन । त्यसबेला नगरपालिकाको जिम्मेवारी भनेकै जनताको स्वास्थ्य रक्षा गर्ने, त्यसका लागि सहर, गाउँ, गल्लीका सडक, ढल, चोक आदि सरसफाइ गर्ने, रोग फैलन नदिने, ठाउँ–ठाउँमा पार्क निर्माण गर्ने, स्वास्थ्य शिक्षा प्रचार गर्ने, बत्तीको प्रबन्ध गर्ने, प्राइमरी शिक्षा अनिवार्य गर्ने, स्कुल कलेज प्रसस्त खोल्ने आदि तोकिएको थियो । 

त्यस बीचमा ललितपुर नगरपालिकाको सभापतिमा नरेन्द्रमान जोशी र भक्तपुरको सभापतिमा रत्नसुन्दर विजयी हुनुभयो । २०१० साल असोज १७ गते काठमाडौँ नगरपालिकाको अध्यक्ष पदका लागि चुनाव भयो । पुस्करनाथले छ मत र जनकमान श्रेष्ठ (बीए)ले १२ मत प्राप्त गर्नुभयो । निर्वाचनका दिन एक वडा सदस्य विरामी भई अनुपस्थित हुने अवस्था आएपछि उहाँलाई उलिनकाठ चढाएर मतदान स्थलसम्म ल्याइएको थियो । कात्तिक १७ गते काठमाडौँ नगरपालिकाका नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभयो । 

कात्तिक १७ गते नगरपालिकाको पहिलो बैठक बस्यो । सो बैठकले काठमाडौँ नगरपालिकाका कर्मचारी नगरपालिकाकै राख्ने र उनीहरूको खर्चका लागि नगरपालिकाका इलाकाभित्रका सिनेमा आदिको आम्दानी नगरपालिकाले लिने र नगरपालिकाका अटुट नोकरी गरेका कर्मचारीलाई बोर्डको कोषबाट पेन्सन दिने तथा बोर्डको बैठक बस्ने कामका लागि एउटा स्थायी हल आवश्यक भएकोले एउटा हलको सरकारसँग माग गर्ने लगायतका निर्णय गरेको थियो । मङ्सिरमा बसेको दोस्रो बैठकले नगरपालिकाका सभापतिलाई १० हजार रुपियाँभन्दा नबढाई जनहित तथा अरू भैपरी आउने कामको निमित्त खर्च गर्ने अख्तियार दिने निर्णय गरेको थियो ।

राजनीतिक द्वन्द्व सुरु भयो । २०११ सालमा नगरपालिकाको मूलढोकामा नेपाल सरकारबाट जारी भएको इस्तिहार टाँस गरिएको थियो – जनकमान श्रेष्ठलाई काठमाडौँ नगरपालिकाको सभापतिको पदबाट हटाउने आजको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको हुनाले निज जनकमान श्रेष्ठलाई नगरपालिकामा प्रवेश गर्न निषेध गरिएको ।

Author

प्रकृति अधिकारी