• १५ असार २०८१, शनिबार

मुटुरोगसम्बन्धी शिविरबाट बिरामी लाभान्वित

blog

म्याग्दी समाचारदाता

म्याग्दी, वैशाख १९ गते  । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मुटुरोग परीक्षणसम्बन्धी शिविरबाट एक हजार पाँच सय जनाभन्दा बढीले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा एक हजार ५०५ जनाको मुटुको परीक्षण गरिनुका साथै औषधि उपचारको सेवा प्रदान गरिएको थियो । 

सेभ द हार्ट काठमाडौँको आयोजना एवं म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र ईशा फाउन्डेसनको सहआयोजना तथा मनमोहन कार्डियोथेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँ र बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा म्याग्दी जेसिज, बरञ्जा छात्रवृत्ति अक्षय कोष, लायन्स क्लब अफ बेनी पिस सिटी, धौलागिरि कालिका हाइड्रो, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना बहराइन र हङकङले सहयोग गरेका थिए । 

दुईदिने शिविरमा परीक्षण गरिएकामध्ये ४९ जनामा मुटुरोगको समस्या पहिचान भएकोमा ४१ जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको सेभ द हार्ट काठमाडौँका अध्यक्ष एवं एसोसिएट प्रोफेसर वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो । उहाँले शिविरमा आठ सय ६३ जनाको मुटुको ईसीजी, २१ जनाको मुटुरोग पहिचान र १३ जनामा हार्टअट्याक पत्ता लागेकोमा १६ जना अप्रेसन गरेका बिरामीको फलोअप उपचार गरिएको जानकारी दिनुभयो ।

निःशुल्क मुटुरोगको शिविरमा मुटुमा समस्या देखिएका बिरामीलाई काठमाडौँमा उपचार गर्न बोलाइएको आयोजकको भनाइ छ । साथै उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको डाक्टर भट्टराईको भनाइ थियो । शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामी आएका थिए । शिविरमा परीक्षणका क्रममा मुटुको केही न केही समस्या देखिएकाले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउँदै डा. भट्टराईले स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिनुभएको छ । 

उपचारमा खट्ने चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीलाई कदरपत्र, सहयोगदातालाई सम्मान र स्वयंसेवकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । चिकित्सक, सहयोगी र स्वयंसेवकलाई सम्मान गर्दै ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्यले भविष्यमा जिल्लाका सर्वसाधारण नागरिकलाई लक्षित गरेर विभिन्न किसिमका स्वास्थ्य शिविर निःशुल्क रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो । 

शिविरमा निःशुल्क रूपमा मुटुको परीक्षण, इको कार्डियोग्राफी, ईसीजी र औषधि वितरण गरिनुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टर, चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित ४० जनाको टोलीले बिरामीको उपचार गरेको थियो । सेभ द हार्टको आयोजनामा हालसम्म नेपालका २३ जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिएकोमा म्याग्दीको ९६औँ शिविर भएको जनाइएको छ ।