रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), वैशाख ८ गते । गुल्मी जिल्लाका विभिन्न १३ ठाउँमा वनक्षेत्रमा आगो लागिरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका सिनियर फरेस्टर कमल रेग्मीका अनुसार सोमबारसम्म ४३६ हेक्टर वनक्षेत्रमा आगलागी भएको छ । जिल्लामा १८ हजार २२३.८८ हेक्टरमा फैलिएको ४५८ वटा सामुदायिक वन रहेको जानकारी उहाँले दिनुभयो ।
धुर्कोट, मुसीकोट र रेसुङ्गाका वनक्षेत्र सबैभन्दा बढी आगलागीको जोखिममा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा १०५ हेक्टर, २०८०/८१ मा ८९ वनको दुई हजार ४२ हेक्टरमा आगलागी भएको रेग्मीले बताउनुभयो । अधिकांश आगलागी मानवीय कारणबाट हुने गरेका छन् ।
सिनियर फरेस्टर रेग्मीले पछिल्लो तीन वर्षमा आगलागी गर्ने दुई जनालाई मुद्दा चलाइएको र चार जनालाई सचेत गराएर पठाउने काम भएको बताउनुभयो । डिभिजन वन कार्यालयले साढे दुई महिनाका लागि नियुक्ति गरेर पाँच जना अग्निनियन्त्रक दस्ता निर्माण गरेको छ भने जिल्लामा उपल्लो तम्घास, गौँडाकोट, रिडी, रूपाकोट, वस्तु, पुर्कोटका सबडिभिजन रहेका छन् ।
वनकै नजिकको स्थानीय सरकारसँग अधिकार छैन । धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोख्रेलले समुदायस्तरका सामुदायिक वन स्थानीय तहलाई हस्तान्तरण नहुँदा अनेक अल्झन र कानुनी समस्याका कारण संरक्षण, व्यवस्थापन र आगलागी नियन्त्रणमा सोचे अनुसारको योजना बनाउन नसकिएको बताउनुभयो ।
त्यस्तै दाना पकाउने क्रममा एक्कासि आगलागी हुँदा गुल्मीका रुरुक्षेत्र गाउँपालिका–४, लामडाँडाका अनन्तराम ज्ञवालीको कच्ची गोठ जलेर नष्ट भएको थियो । चैत २६ गते भएको आगलागीबाट पशुचौपायबाहेक गोठ पूर्ण रूपमा जल्यो, जसले ज्ञवालीको एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
रानीबासका कपिल श्रेष्ठको कच्ची गोठ पनि दाना पकाउने क्रममा चैत ९ गते जलेर पूर्ण रूपमा नष्ट भयो । दाना पकाउने क्रममै चैत २५ गते आगलागी हुँदा कालीगण्डकी गाउँपालिका–७, धुवाखोलाका टेकबहादुर थापाको गोठ जलेर नष्ट भएको थियो ।
गुल्मीमा नौ महिनामा ५८ वटा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीबाट दुई पुरुषको मृत्यु भएको छ । दुई महिला र दुई पुरुष गरेर चार जना घाइते भएका छन् । आठ घर र २७ गोठ जलेर नष्ट भएका छन् । जसका कारण २८ पशुचौपायाको मृत्यु र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले आगलागीबाट अन्दाजी ५० लाखको आर्थिक क्षति भएको बताउनुभयो ।