• ७ मंसिर २०८१, शुक्रबार

चुम उपत्यकाको चमक

blog

काठमाडौँको ठमेलमा चढेको जिपले सात घण्टामा गोरखाको माछाखोला पु-याइदियो । पैदल यात्रा यहीँबाट सुरु भयो । गन्तव्य हो चुम उपत्यका । बिहानको सिरसिरे बतासको आनन्द लिँदै हान्निँदै छौँ हामी । खोर्लाबेँसी, तातोपानी, दोभान यारुबगर पुग्यौँ झन्डै चार घण्टामा । यहाँ चट्टानी पहरा खोपेर साहस र कौशलले बनाइएको पृथक् पुल अर्थात् नेपालकै पहिलो क्यान्टिलिभर फुटब्रिज भेटियो । यहाँबाट एक घण्टामा हामी गोर्खाको जगत गाउँ (१,३४० मिटर) पुग्दा अपराह्न ३ बजिसकेको थियो । पर्यटकका लागि कुम जोडेर बसेका छन् यहाँ छ वटा होटल । चारैतिर चट्टानेभिरले घेरिएको छ । बुढीगण्डकीलाई काखी च्यापेर गहिरो खोँचमा बसेको छ जगत । उहिल्यैदेखि यस भेगको प्रमुख व्यापरिक केन्द्र बन्दै आएको जगत अहिले पर्यटकीय गाउँमा दरिएको छ । 

जगतबाट घट्टेखोला हुँदै फाँटिलो पाखामा अवस्थित फिलिम बजार (१,५७० मिटर) पुग्यौँ । पहाडको छड्के टोपी ओढेर वरपरका डाँडाकाँढा, भिरपाखा हेरिबसेको फिलिम बजार आफैँमा हेर्न लायक छ । यहाँ गुरुङहरूको बसोबास रहेको छ । सानाठुला एघार वटा होटेल तथा रेस्टुरेन्ट रहेको फिलिम बजार नुम्ब्री गाउँपालिकाको सदरमुकाम हो । यहाँबाट ४५ मिनेटमा एक्लेभट्टी पुग्नासाथ देब्रेतिर एक झोलुङ्गे पुल भेटिन्छ, जुन गोरखाकै सर्वाधिक लामो पुल (१६० मिटर) हो । यहाँबाट झन्डै एक घण्टाको हिँडाइपछि देब्रेतिर अर्को झोलुङ्गे पुल पुगियो । यो गम्पुल नामक पुल तरेपछि भेटिने तेर्सो बाटोले मनासलुको लार्के पास पु-याउँछ तर हामी सिधा तर्पयाँ उकालो उक्लन्छौँ । चुम भ्यालीको प्रवेश विन्दु भेटिन्छ, १० मिनेटमै । उकालो चढ्नासाथ जङ्गलको हरियाली वातावरणमा हिँड्दा आनन्दको अनुभूति हुन्छ । 

झन्डै एक घण्टाको यो उकालोभरि सुनसान छ । यहाँको निर्जनतालाई नजिकैबाट एकनास बगिरहेकी बुढीगण्डकी (यो नदीलाई स्थानीयवासी स्यार खोला भन्छन्) को सुसाइले मात्र बिथोल्छ । ठुल्ठुला लालीगुराँस र सल्लाको छायादार बाटो । सल्लाकै सिको गर्न खोजे झैँ लहराउँदै अकासिएका सदाबहार लहरा । तिनै रुखका हाँगा हाँगा पिङ खेल्दै गरेका लङ्गुर बाँदर हेर्दै उकालो चढियो । 

अग्ला अग्ला पहाडै पहाडको काखमा प्रकृतिसँग लहसिँदै बसेको लोक्पा गाउँ (२,२४० मिटर) पुग्यौँ । चुम उपत्यकाको पहिलो गाउँ लोक्पामा दुई वटा होटेल रहेछन् । यहाँसम्म कहिलेकाहीँ कुखुरा/खसीको मासु पाइन्छ । यहाँबाट माथिल्लो चुम उपत्यकाको अन्तिम बस्ती निले/मुगुम्बासम्म काटमार गर्न बन्देज लगाइएको छ । त्यसैले अन्डाबाहेक कुनै पशुपन्छीजन्य मासुका परिकार पाक्दैनन् अबका होटलमा । बस्तीमा लामा जाति बसोबास  गर्छन् । चुम उपत्यकाभित्र चुम भाषा बोल्छन् । जुन तिब्बती भाषासँग धेरै मिल्छ । भाषा मात्र होइन, प्राचीन तिब्बती बौद्ध संस्कृति सभ्यताबाट पनि यहाँका मानिस धेरै नै प्रभावित छन् । 

चुम्चेत–६ का पूर्वअध्यक्ष लोप्साङ लामा भन्नुहुन्छ, “लोक्पामा दुई होटेलसमेत २३ घरधुरीमा १०४ जना बस्छन् । यहाँ एक गुम्बा छ, जसले प्राचीन बौद्ध धर्म, संस्कृति, सभ्यता र इतिहास बोकेको छ । तल बुढीगण्डकी सुसेल्दै बगेकी छन् निरन्तर । दायाँ र बायाँ आकाश नापेका अग्ला न अग्ला पहाडले अँगालो हालेका छन् । मुन्टो मात्र निकालेर मुसुमुसु हाँसिरहेछ, शेराङ्गी÷शृङ्गी, चमेरी र रुबिनाला हिमाल । प्राकृतिक दृश्यमा दङ्ग हुन पाउँदा अद्भुत अनुभूति भइरहेछ । हृदय नै रसाउने वातावरणले छाएको छ । 

लोक्पाबाट चार÷पाँच मिनेट तेर्सो हिँड्नासाथ भेटिने चुम उपत्यकाकै कठिन र लामो पहिरोले सातो लिन्छ । करिब ४५ मिनेट लामो पहिरोको बाटो कतै कतै त कतिसम्म साँघुरो छ भने दुई जना आउजाउ गर्न पनि मिल्दैन । यतिले नपुगेर टोपी उडाउला झैँ गरेर चलेको बतास बाधक बनिदिन्छ यात्राको । भिरको बाटो हिँड्दा खुट्टा चिप्लियो कि एकैचोटि सयौँ मिटर तल ढुङ्गामा बजारिनु वा बगिरहेकी बुढीगण्डकीमा खस्नुको विकल्प छैन । आङ नै जिरिङ्ग पार्दै पहिरो पार गर्नु पर्छ । 

लोक्पाबाट अगाडि बढ्दा उकाली र ओराली बाटो छन् । आधा घण्टाको ओरालो बाटो सकिनेबित्तिकै कलकलाउँदै बगेकी बुढीगण्डकी तरेर सर्दीभिरको उकालो उक्लन्छौँ । यो चट्टाने पहरामा अर्को क्यान्टिलिभर पुल (९० मिटर) भेटिन्छ । करिब एक घण्टाको ठाडो उकालो हिँडेपछि भारी÷झोला बिसाउने ढुङ्गे बिसौनीमा हामी पनि एकछिन थकाइ मार्छौं । बुढीगण्डकीको चिसो पानी छोएर उक्लेको बतासले हरिया बोटबिरुवाका पात हल्लाउँदै छन् र छिनमै आइपुग्छन् तरङ्गित पार्न हाम्रा आँतसम्म नै । यहाँको सुस्ताइ थप विशेष बन्छ, जब अघिल्तिर ठुलो आकारमा उभिएको शेराङ्गी÷शृङ्गी र चमेरी हिमालको सौन्दर्य आँखामा पर्छ । अनि अर्कै लोकमा पुगेको अनुभूति हुन्छ । 

चुम्लिङ गाउँ (२,३८६ मिटर)  आइपुग्यो । घाचको गान्दी पुल तरेपछि त एक घण्टा पनि लागेन रुमालका बुट्टा जस्ता देखिने चुम्लिङ पुग्न । यहाँको तासी दलेक लोप्साङ लजको फराकिलो आँगनबाट पूर्वतिर गणेश चौथो र याङ्गा हिमाल हाँसेको देखिन्छ । उत्तरतिर लाङ्ग्री, खाङ्बी र किप्पु हिमाल । पश्चिमतिरको चमेरी हिमाल र दक्षिणतिर बुद्ध हिमाल चम्केको पाउँछौँ ।

यहाँका होटेलले फापरको रोटी, गहुँको अडिलो सातु (चम्पा), आलुचनाको तरकारी, उसिनेको अन्डा र तात्तातो चिया/कफी तयार पारेर राखेका छन् । गाइड र भरियालाई बिहानको नास्ताका रूपमा यो तयार पारिएको हो । सातु (चम्पा) त लोक्पाबाट नै पाइन थालेको हो होटलमा । भान्सामा बिनाविषादीका स्वादिला सागसब्जी र फापरको रोटी÷ढिँडो अनि अर्गानिक आलु जस्ता स्थानीय उत्पादनका परिकार पाक्छन् । त्यसमाथि न्यानो आतिथ्य मिसिएपछि मिल्ने मिठासको के कुरा ? हर्षित मनमा श्रद्धा र जागरण एकैसाथ जाग्छ । जिब्रोको स्वादमा रमाउने अवसर मिल्नु अर्को फाइदाको पक्ष हो यो चुम पदमार्गको ।

यहाँसम्मको पैदल यात्रामा एकपछि अर्को अग्लिँदै गएका अनेक भीमकाय टाकुरा भेटिए तर एक गाउँको पहाडी ढुङ्गेटुप्पोबाट देखिने वरपरका ल्यान्डस्केप र दोस्रो गाउँको पहाडी ढुङ्गेटुप्पोबाट देखिने वरपरका ल्यान्डस्केप अत्यन्त अलग । फेरि ‘कोभन्दा को कम’ भन्ने खालाका एक गाउँको असली भ्युटावर, अर्को गाउँको असली भ्युटावरबाट नदेखिने । सम्झन्छु, देशभर निम्छरो भ्युटावर बनाउने होडमा हिँड्नेलाई । कति फरक छ फेसनका रूपमा फैलिएको त्यो कृत्रिम भ्युटावर र यी असली भ्युटावर अर्थात् प्राकृतिक ढुङ्गेटुप्पो ! 

चुम्लिङ बारीको बाटो हुँदै झरेको १५ मिनेटमै जङ्गलको बाटो भेट्यौँ । बायाँ मास्तिर अजङ्गको पहाड र दायाँ तलतिर बुढीगण्डकी नदीको बिचमा छौँ हामी । बुढीगण्डकी सारेगमको पहिलो स्वर सा... अलाप्दै तलतिर दगुरेको झैँ लाग्ने, कहिले नजिकिँदै त कहिले टाढिँदै । नदीको स्वरमा साथ दिएको छ झ्याउँकिरीले भाका हालेर । बिहेमा बाटो छेक्ने गरी जन्ती नाचे झैँ फुर्फुर हुँदै रङ्गीन पुतली नाच्दै छन् । तलमाथिको अग्लिँदै गएका धुपीका पात र हाँगा मादक पदार्थले मातेको मान्छे जसरी हल्लिएका/झुलेका छन्, मन्द मन्द बतासको मद्दतले । फूल फुल्ने र नफुल्ने प्रजातिका बोटबिरुवा, दुर्लभ जङ्गली जीवजन्तु र चराका प्रजातिसँगको साक्षात्कारले यात्रा रङ्गीन बन्छ । बेला बेलामा खोलानाला तर्न झोलुङ्गे पुलमाथि हल्लिँदै उचाइ नाप्नु पर्छ, वरपरका मनमोहक दृश्यहरू आँखामा ठोक्काउँदै ।

ओहो...! बाक्लिँदै गएका जङ्गलको बाटोमा घामछाया कस्तो ठिक ठिक समय मिलाई मिलाई आएका ! मानौँ मानव निर्मित स्वप्न बगैँचामा स्वचालित मेसिन जडान गरिएको छ । कस्तो घामछाया भने घाममा आठ÷दस मिनेट हिँड्दा गर्मी गर्मी हो कि जस्तो हुन्छ । लगत्तै रुखको शीतल छाया आइहाल्छ । यस्तो रुखको छायामा आठ÷दस मिनेट हिँड्दा जाडो जाडो हुन थाल्छ । कस्तो आनन्द ! शरीर न्यानो बनाउन फेरि घाम परेको बाटो आइहाल्छ । पैदल यात्रा नगरी बसिरह्यो भने त जाडो भइहाल्छ । जिन्दगीमा पहिलो पटक शरीर अनुकूल तापव्रmम तय भएको यस्तो ठाउँ भेट्दा भाग्यमानी सम्झँदै मक्ख परेँ । यो बाटो रेन्जम गाउँ र घो गाउँबिचको बाटो हो ।

हिँडेर रहर नपुग्ने अतिरेक आनन्द पदयात्रामा प्राप्त भइरह्यो । अलौकिक लेकाली प्राकृतिक छटामा नवीन अनुभव मिलिरह्यो । बाटो पनि तुलनात्मक रूपमा पहिलेभन्दा तेर्सो र सहज छ । यस्तैमा छेकम्पारो भन्ने गाउँ (३,०३१ मिटर) आइपुग्यो । तल्लो चुम उपत्यकाको सिमाना सकियो । भोलिदेखि माथिल्लो चुम उपत्यकाको पदयात्रा सुरु हुन्छ । खासगरी तल्लोभन्दा माथिल्लो चुम उपत्यका भौगोलिक हिसाबले बढी विकट छ । यति हुँदाहुँदै पनि तल्लो चुम उपत्यकाको पदयात्रा तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण छ र त रोमाञ्चक पनि छ ।