• १६ भदौ २०८१, आइतबार

सोडारीले पेस गरेका शैक्षिक प्रमाणपत्र नक्कली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । विशेष अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडरीकी पत्नी गीता सोडारीलाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ । अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले करिब दुई वर्षअघिको मुद्दामा दोषी ठहर गरेको हो । बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एकै तहका दुई वटा नक्कली शैक्षिक प्रमाणपत्र बनाई त्यसका आधारमा राहत शिक्षक नियुक्त भएको अभियोग सोडारीमाथि लगाइएको थियो । 

अदालतले सोडारीलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदनको सुविधा पाउने छन् । 

सोडारीले नक्कली प्रमाणपत्रका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–९ को शिव निम्न माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकको नियुक्ति लिनुभएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो । अख्तियारले २०७९ असोज ७ गते मुद्दा दायर गरेको थियो । योग्यता ढाँटेर झुटा विवरणका आधारमा राष्ट्र सेवकको ओहोदा प्राप्त गरेको अख्तियारको आरोप थियो ।

वादे दोषी ठहर

विशेष अदालतले बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश वादेलाई घुस लेनदेन मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले वादेलाई दोषी ठहर गरेको हो । असार ३१ गते वादेको सजाय निर्धारण हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो ।

घरबाटो सिफारिस प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वादेविरुद्ध २०८० माघ २६ गते मुद्दा दायर गरेको थियो । 

अख्तियार टोलीले वादेलाई १५ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको थियो । घुस रकम लेनदेन भइसकेको अवस्थामा वादे पक्राउ पर्नुभएको थियो । भ्रष्टाचार निवारण ऐन अनुसार वादेलाई दुई वर्ष छ महिनादेखि चार वर्षसम्म सजाय हुन सक्ने छ । 

पाललाई छ महिना कैद

यस्तै विशेषले राष्ट्रपति चुरे संरक्षणका कार्यक्रमका अधिकृत प्रभात पाललाई घुस लेनदेनमा दोषी ठहर गरेको छ । अदालतले पाललाई छ महिना कैद र एक लाख २० हजार रुपियाँ जरिबाना तोकेको छ । 

कार्यक्रम अन्तर्गत कैलालीमा जलाधार व्यवस्थापन अधिकृतका रूपमा कार्यरत पाललाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । एक लाख २० हजार रुपियाँ घुससहित पव्रmाउ परेका पालविरुद्ध अख्तियारले वैशाख २८ गते मुद्दा दायर गरेको थियो ।