• १३ असार २०८२, शुक्रबार

मनसुनजन्य जोखिम उच्च

blog

चौमाला समाचारदाता 

चौमाला (कैलाली), असार १३ गते । सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुन सक्ने अनुमान गरिएको छ । देशभर मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढीपहिरो र डुबान सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि बाढीपहिरोको जोखिम उच्च छ । 

विपत्ले हुन सक्ने क्षति न्यूनीकरण र आवश्यक पूर्वतयारी अवस्थामा रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो । डोटी, बाजुरा, अछाम, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका धेरै बस्ती पहिरोको जोखिममा छन् भने कैलाली, कञ्चनपुरका केही भाग डुबानको जोखिममा छन् । गत असार ४ गते मात्र कैलालीको गौरीगङ्गामा एक जनाको खोलामा बगेर मृत्यु भएको छ । 

तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरोलगायतका जोखिमका कारण बर्सेनि ठुलो जनधनको नोक्सानी हुने गरेको छ । मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते हुने, घरखेत बगाएर विस्थापित हुने समस्या बर्सेनि झेल्दै आएको छ । यो वर्ष पनि ठाउँ ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ । बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकाले जनधनको क्षति हुने गरेको छ । सरकारले भने सधैँ आफ्ना सबै निकाय तयारीमै रहेका बताउने गरेको छ । विपत् व्यवस्थापन कार्यविधि पारित गरेर विपत् व्यवस्थापन समितिका व्यक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उहाँले बताउनुभयो । सुरक्षा निकाय र स्थानीय स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिएको र सरोकारवालासँग विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नेबारे पनि छलफल भइसकेको उहाँले बताउनुभयो ।  

पहाडी जिल्लामा पहिरो तथा सडक अवरुद्धको जोखिम सबैभन्दा बढी रहेको छ । विशेष गरी कैलाली कञ्चनपुरका विभिन्न बस्ती डुबानमा पर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेशको तराई–पहाड जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने गरेका छन् । सम्भावित विपत्लाई लिएर कैलाली, कञ्चनपुरका विपत् सम्पर्क व्यक्तिलाई तालिम दिइएको प्रदेश सरकारले बताएको छ । प्रदेश सरकारले यस वर्ष विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीका लागि सामग्री खरिददेखि जिल्लास्तरबाट हुने तयारी भइसकेको  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले बताउनुभयो ।