• १३ असार २०८२, शुक्रबार

किवी खेतीमा भविष्य खोज्दै किष्ण पुर्जा

blog

किवी खेतीमा काम गर्नुहुँदै किष्ण पुर्जा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, असार १३ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका सेवा निवृत्त शिक्षक किष्ण पुर्जाले गाउँमै व्यवसायिक किवी खेती थाल्नुभएको छ । स्थानीय हिमाञ्चल माध्यमिक विद्यालयमा कार्यरत पुर्जाले २९ वर्षे लामो शिक्षण पेसाबाट हालै मात्र अवकाश लिएर व्यवसायिक रुपमा किवी खेती सुरु गर्नुभएको हो । चारवर्ष अघि लगाउनुभएको किवीको बोटले यसपालीदेखि फल दिन थालेको छ ।

उहाँले भन्नुभयो, ‘‘लामो समय शिक्षण पेसामा लागियो, अहिले बसेर पनि खान पुग्ने थियो । तर गाउँमा केही न केही गरौं भनेर किवी खेती तर्फ लागेको छु । नयाँ पुस्तालाई कृषि क्षेत्रमा भविष्य देखाउन पनि मैले किवी खेती सुरु गरेको हुँ ।’’ आफूले गरेको किवी खेतीले युवाहरुलाई यस पेसामा लाग्न प्रेरणा दिने उहाँको भनाइ छ । कृषि पेसा गरेर पनि आम्दानी लिन सकिन्छ भन्ने सन्देश युवाहरुलाई दिन आफूले किवी खेती थालेको उहाँले बताउनुभयो ।

‘‘मैले पढाएका धेरै विद्यार्थीहरु विदेश गए । युवा पुस्तामा आफ्नो माटोमा भविष्य नदेख्ने प्रवृत्ति भयो । गाउँमै परिश्रम गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ,’’ पुर्जाले भन्नुभयो, ‘‘ गाउँमै पनि व्यावसायिक  कृषि खेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदारहण दिन खोजेको छु । अन्य खेतीभन्दा फलफूल खेती गर्न सजिलो छ । युवाहरुलाई कृषिमा आकर्षित गर्ने मेरो उद्देश्य पनि छ,’’ उहाँले भन्नुभयो ।

चार वर्ष पहिला एक रोपनी क्षेत्रफलमा किवीका बोट रोप्नुभएको पुर्जाले अहिले यस वर्षदेखि फल दिन थालेको छ । किवी खेतीबाट वार्षिक रुपमा दस लाख रुपियाँ आम्दानी गर्न उहाँको लक्ष्य छ ।

अहिले बिहानदेखि बेलुकासम्म किवीका बोट काटछाट, गोडमेल र हेरचाहमै पुर्जाको दिन बित्ने गरेको छ । किवीको बोटमा लटरम्म फल लागेको छ । कात्तिक–मङ्सिरमा फल टिप्न मिल्ने उहाँले बताउनुभयो । आगामी दिनमा किवी खेतीलाई विस्तार गरेर पाँच रोपनीसम्म पु¥याउने उहाँको भनाइ छ ।

‘‘मैले मेरो सबै जमिनमा किवी खेती गर्ने योजना बनाएको छु, यहाँको हावापानी किवी खेती अनुकूल छ’’ उहाँले भन्नुभयो, ‘‘गाउँका सबैलाई किवी खेती गर्न प्रोत्साहन गरेको छु । नांगी गाउँलाई किवी गाउँ बनाउने मेरो लक्ष्य छ ।’’ अरु खेतीभन्दा किवी खेती गर्न सजिले र एकपटक लगाएको बोटबाट लामो समयसम्म आम्दानी लिने सकिने उहाँले बताउनुभयो ।

उत्पादन गर्नसकेमा किवीको बजारको समस्या नभएको उहाँको भनाइ छ । शिक्षक पेसाबाट अवकाश लिएपछि गाउँका साथीभाई र इष्टमित्रहरुले राजनीतिमा लाग्न सल्लाह र सुझाव दिए पनि आफूले भने व्यवसायिक कृषि पेशा रोजेको उहाँले बताउनुभयो । किवी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उहाँले भविष्यमा सबै जमिनमा किवी खेती गर्ने बताउनुभयो ।

‘‘किवी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन । बगानभित्र आलु, साग सब्जी लगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ,’’ उहाँले भन्नुभयो, ‘‘कम परिश्रमबाट बढी आम्दानी दिने लिनसकिने हुँदा यो सजिलो पेसा हो ।’’ किवी खेतीका बारेमा युटुब र सामाजिक सञ्जालबाट जानकारी लिँदै काम गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले कृषि पेसाप्रति युवाहरुलाई आकर्षित गर्ने खालको नीति तथा कार्यक्रम बनाउनुपर्ने उहाँको सुझाव छ ।