गोदावरी/चौमाला समाचारदाता
धनगढी, असार १३ गते । सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गर्नुभएको हो । प्रदेशका नौ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकको सङ्ख्या औसतमा ९५ प्रतिशत रहेको तथ्याङ्कका आधारमा सुदूरपश्चिमलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो । सुदूरपश्चिम प्रदेशमा १५ देखि ६० वर्षसम्मको जनसङ्ख्या १६ लाख ८८ हजार ३४ रहेको छ । त्यसको ९६.१९ प्रतिशत अर्थात् १६ लाख २३ हजार ७१९ नागरिक साक्षर रहेको शिक्षा निर्देशनालयको तथ्याङ्क छ । सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा साक्षर प्रतिशत ९७.३१ छ भने सबैभन्दा कम दार्चुलामा ९५.४० रहेको छ ।
तथ्याङ्क अनुसार अछाममा ९५.५५, बैतडीमा ९६.५३, डडेलधुरामा ९६.८, बझाङमा ९५.६०, डोटीमा ९६.५५ कैलालीमा ९६.२० र कञ्चनपुरमा ९६.२१ प्रतिशत साक्षर छन् ।
साक्षर नेपाल वर्ष–२०७६ को अवधारणापत्रबमोजिम प्रदेश साक्षरता अभियान समितिको ११ असारको निर्णय अनुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशकसमेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समिति सुदूरपश्चिमका सदस्यसचिव दुर्गादत्त विष्टले जानकारी दिनुभयो ।
साक्षरका लागि मापदण्ड
साक्षर घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । १२ वटा मापदण्ड पूरा गरेका स्थानीय निकायका ९५ प्रतिशत जनसङ्ख्याले साक्षरता कक्षा पूरा गरिसकेपछि पालिका साक्षर घोषणा हुन्छ । अन्त्यमा जिल्ला साक्षर घोषणा हुन्छ । प्रदेश सरकारले पनि अघिल्लो नीति तथा कार्यक्रममा साक्षर प्रदेश घोषणा गर्ने बताएको थियो ।
घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।
उहाँले वर्तमान समयमा साक्षरताको परिभाषा विद्यालय शिक्षामा मात्र सीमित नहुने भएकाले सिप विकास र जीविकोपार्जनका लागि क्षमता विकासमा अबको साक्षरता अभियान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै सामाजिक विकासमन्त्री मेघराज खड्काले प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहहरूसँग समन्वय गरेर साक्षर उमेर समूहका व्यक्तिको निरन्तर सिकाइका कार्यक्रम र सिप विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
कति पढेको हुनु पर्छ ?
सुदूरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ । यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन् । साक्षर घोषणा गर्दा वर्ण र अक्षर लेखपढ गर्न सकेमा, मूल्यसूची र बिल पढ्न सक्ने भएमा, परिवारका सदस्यको परिचय विवरण लेख्न र पढ्न सक्ने भएमा, मोबाइल र क्याल्कुलेटरको प्रयोग गर्न सकेमा, ० देखि ९ सम्मका अङ्क र अक्षर लेख्न र पढ्न सक्ने भएमा, लेनदेनका हरहिसाब राख्न सक्ने भएमा, चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत बुझ्न सकेका आधारमा साक्षरता घोषणा हुँदै आएको छ ।
साक्षर घोषणा कार्यक्रममा प्रदेशका नौ वटै जिल्ला शिक्षा समन्वय एकाइका प्रमुखहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । घोषणा सभालाई सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, नेकपा (माओवादी केन्द) का संसदीय दलका नेता खगराज भट्टलगायतले सम्बोधन गर्नुभएको थियो ।