• १२ साउन २०८१, शनिबार

भद्रकाली मन्दिर पुनर्निर्माण सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक र सांस्कृतिक महत्त्वको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बिहीबार शिलान्यास गरेसँगै पुनर्निर्माण सुरु गर्नुभएको हो । शिलान्यासअघि लुमधि भद्रकाली गुठीले शास्त्रीय विधि अनुसार पूजा गरेको थियो । 

शिलान्यासपछि उपप्रमुख डङ्गोलले भद्रकालीका सबै श्रद्धालुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्नलायक स्मारक हुने बताउनुभयो । पुनर्निर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्त्व  विभागलाई दिइएको छ । 

अहिलेको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्त्व विभाग, गुठी संस्थान, लुमधि भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने छ । ३६ करोड रुपियाँको लागतमा यस मन्दिर क्षेत्रको पुनर्निर्माण भइरहेको छ । तुल्सी/अम्बुजा (संयुक्त) निर्माण कम्पणीले पुनर्निर्माणको जिम्मा पाएको छ । पुनर्निर्माणको समय तीन वर्ष रहेको छ । 

महानगरले भद्रकालीको पुनर्निर्माण परम्परागत नेवारी शैलीमा हुने जनाएको छ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुने छ । छानो झिँगटीको हुने छ । उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ब्लक आपसमा जोडिएका हुने छन् । यस्तै दक्षिणतर्फ तीन वटा ब्लक हुने छन् । यिनीहरू पनि आपसमा जोडिएका हुने छन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने छ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।