• १३ साउन २०८१, आइतबार

रुकुमपूर्व पूर्णखोप सुनिश्चितता घोषणा

blog

पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमका अतिथिहरू । तस्बिरः जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, असार २७ गते ।
 रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । “स्थानीय स्रोतको स्वामित्व र सहभागिता पूर्णखोपको सुनिश्चितता हाम्रो प्रतिबद्धता” भने नाराका साथ जिल्ला खोप समन्वय समिति रुकुमपूर्वद्वारा आयोजित एक समारोहमा बिच राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुकुमपूर्वलाई बिहीबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले पाउनुपर्ने सबै १३ प्रकारका खोपको पूरा मात्रा पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त कार्यालय प्रमुख पुष्कल श्रेष्ठले बताउनुभयो ।

जसमा आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहका स्वास्थ्य संस्थामार्फत जिल्लामा एक हजार एक सय ८६ भन्दा बढी बच्चालाई पूर्ण १३ प्रकारका खोप लगाइएको छ । भने जिल्लाका स्वास्थ्य संस्थाबाट सात सय ३५ भन्दा बढी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा लिएका छन् ।

रुकुमपूर्व भौगोलिक विकटता र यातायात पहुँच नभएको दक्ष प्रसूतिकर्मीको अभावका कारण घरमै सुत्केरी हुने सङ्ख्या अझै कायमै छ । ५६ हजार सात सय ८६ जनसङ्ख्या रहेको रुकुमपूर्वमा यसपटक १६ महिनादेखि ५९ महिनासम्मका दुई हजार ६८७ बालबालिका र १५ महिना मुनिका एक हजार एक सय ८६ बालबालिकालाई घरमै पुगेर स्वास्थ्यकर्मीले तथ्याङ्क सङ्कलन गर्नुभएको थियो । उक्त तथ्याङ्क सङ्कलन गर्दा कुनै पनि बालबालिका खोप लगाउनबाट वञ्चित नभएको भेटिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वले बताएको छ ।

हरेक वर्ष लक्षित समूहका बालबालिकाले पूरा खोप लगाए नलगाएको बारेमा अनुगमन गर्ने र सबैले खोप पाएको सुनिश्चित भएको खण्डमा जिल्लालाई प्रत्येक वर्ष खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेअनुसार रुकुमपूर्व जिल्लालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशसभाका सदस्य सुरुल पुन मगरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिला घोषणा गर्नुहुँदै सांसद पुनमगरले आगामी दिनमा समेत जिल्लामा रहेका सबै बालबालिकाले सबै प्रकारको खोप पाउने सुनिश्चितताका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । कोही पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैको योगदान आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सेवा निवृत्त हुने स्वास्थ्यकर्मी र उत्कृष्ट कार्य सम्पादन गर्नुहुने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।