• १६ भदौ २०८१, आइतबार

टमाटरले बजार नपाउँदा कृषक चिन्तित

blog

त्रिवेणी नगरपालिका –९ का स्थानीय विक्रम कटुवालले उत्पादन गरेको टमाटर । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार २७ गते । बाजुराको त्रिवेणी नगरपालिका–९ को भानासिलामा उत्पादन भएको टमाटरले समयमै बजार नपाउँदा बारीमा सड्न थालेपछि कृषक चिन्तित भएका छन् ।  

त्रिवेणी नगरपालिका–९ का कृषक विक्रम कटुवालले प्राङगारिक मलको प्रयोगबाट गाउँमै उत्पादन गरेको सो टमाटरले समयमै बजार नपाउँदा बारीमै सड्न थालेको हो । असारको पहिलो साताबाट बारीमा टमाटर पाक्न थाले पनि बजार नपाएपछि अहिले बारीमै सड्ने गरेको त्रिवेणी नगरपालिका–९ का स्थानीय कृषक विक्रम कटुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सात रोपनी जमिनमा मल्चिङ्ग प्रविधिबाट टमाटर खेती गरेको छु । अहिले टमाटर राम्रोसँग फलेको छ । यसले बजार नपाउँदा त्यत्तिकै बारीमै सड्न थालेको छ ।”

बुढीगङ्गा खोलामा पानीको बहाव बढ्दै गएपछि अहिले गाडी बाम्कामै रोकिने गर्छ । भरियामार्फत ढुवानी गर्दा टमाटर बेचेको मूल्यभन्दा बढी भरियालाई पैसा दिनु पर्ने भएपछि अहिले टमाटर बारीमै सड्ने गरेको कटुवालले बताउनुभयो ।

यहाँका अधिकांश कृषकले पछिल्लो समय तरकारी खेती गर्दैआएका छन् । प्रत्येक गाउँमा सडक सञ्जालको पहुँच भएसँगै किसान तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । 

हिउँदको बेला जताततै गाडीको पहुँच भए पनि बर्खाको समय ग्रामीण सडक अवरुद्ध हुने गरेकाले यहाँका अधिकांश स्थानीयले उत्पादन गरेको तरकारी बारीमै सड्ने गरेको छ ।

कटुवालले पहिला बाम्का बजारमा टमाटर बिक्री गर्थे । त्यहाँका साहुले दैनिक ५ र ७ क्रेट राख्ने गर्थे । अहिले टमाटर बढी उत्पादन भएको र बजारमा खपत नभएकाले कटुवाललाई टमाटर बिक्रीमा समस्या भएको त्रिवेणी नगरपालिका कृषि शाखा प्रमुख खेमराज न्यौपानेले बताउनुभयो ।