• १२ साउन २०८१, शनिबार

बालबालिकालाई पढ्नभन्दा पानी बोक्नकै चिन्ता

blog

बैतडी समाचारदाता 

बैतडी, असार २७ गते । खानेपानीको धारा नहुँदा भितडा गाउँपालिकाका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइन, भितडा गाउँका जनप्रतिनिधिसमेत बालबालिकासँगै खोलाबाट पानी बोकेर पिउँदै आएका छन् ।  पुर्चौडी नगरपालिका–४, भटनाको भितडा गाउँमा ३० घरपरिवार दलितको बसोबास छ । बालबालिकासँगै पानी भर्न खोलामा भेटिएकी बागमती चुनारा नगर कार्यपालिकाका सदस्य हुनुहुन्छ । 

यद्यपि खानेपानीको योजना ल्याउन नसक्दा उहाँ आफैँ पानी भर्न कोइराली खोला झर्नुभएको हो । “जनप्रतिनिधि भएर के गर्नु ?  मैले आफ्नै गाउँमा खानेपानीको योजना ल्याउन सकेकी छैन,” बागमती  चुनाराले भन्नुभयो । बजेट बाँड्ने बेला दलित महिलाको कुरा सुनुवाइ हुँदैन, हस्ताक्षर गरेर ताली पिट्न लगाएर बजेट पास हुन्छ ? बजेट कहाँ जान्छ ? केही थाहा हुँदैन उहाँले दुःखेसो राख्नुभयो । खानेपानीको समस्याले पढ्ने समय पानी बोक्नमै बित्ने गरेको विद्यार्थी रमेश चुनाराले बताउनुभयो । उहाँले पठनपाठनको भन्दा टाढाबाट पानी बोक्नुपर्ने कुराको चिन्ता लाग्ने गरेको गुनासो गर्नुभयो । 

पुर्चौडीका दलित समुदायका बालबालिकाको बिचमै पढाइ छाड्ने दर उच्च रहेको स्थानीय शिक्षक दिनेश नागारीले बताउनुभयो । शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत कुराबाट दलित समुदाय अझै वञ्चित रहेका छन् । यस गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत छन् । स्थानीय सरकारको अधिकांश बजेट बाटो खन्न र पालिकाका भौतिक संरचना निर्माणमा खर्च हुने गरेको छ । पानीका लागि १०  लाख रुपियाँको योजना हुने हो भने कोइराली खोलाबाट भितडा गाउँमा खानेपानी पु-याउन सकिने सम्भावना रहेको महिला जनप्रतिनिधि चुनाराले बताउनुभयो ।