• १२ साउन २०८१, शनिबार

भारतमा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

blog

सिराज खान 

नेपालगन्ज, असार २६ गते । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । 

भारतीय प्रहरीले दिएको जानकारी अनुसार मंगलवार राति साढे ८ बजे तीन जना नेपाली सवार मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकलमा आगलागी भएको थियो । 

मोटरसाइकलमा आगलागी हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका १ खासकुश्मा घर भएका रा ४ प ७६५ नम्बरका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएका खासकुश्माकै अन्य दुई जना राम बहादुर सिंह र कल्पनाको उपचारका क्रममा श्रावस्ती जिल्ला अस्पताल भिन्गामा मृत्यु भएको राजपुर थानाका इन्चार्ज अजय सिंहले बताउनुभयो । 

भारतको बाटो भएर नेपालको भौवा नाकातर्फ जाँदै गरेको बेला घर्तिले चलाएको मोटरसाइकल ट्याक्टरमा ठोक्किएर आगलागी भएको थाना इन्चार्ज सिंहले बताउनुभयो । मृतक तिनै जना नेपालीको शवलाई भिन्गा जिल्ला अस्पतालमा राखिएको भारतीय प्रहरीले जनाएको छ । 

सो दुर्घटनाबारे भारतीय प्रहरीले जानकारी पठाउँदै मृतकका आफन्तलाई खबर गरिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो । उहाँले राजपुरस्थित भारतीय प्रहरीले नेपाली प्रहरीलाई सो दुर्घटना बारे जानकारी गराएपछि मृतकका आफन्तलाई खबर गर्न लगाइएको बताउनुभयो ।