• ८ मंसिर २०८१, शनिबार

सिन्धुलीका सात पालिका पूर्ण खोप सुनिश्चित घोषित

blog

फाइल तस्बिर ।

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असार २५ गते । सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा तहलाई ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ । कमलामाई नगरपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसँगै जन्मेदेखि पाँच वर्षभित्रका बालबालिकाले सबै खालको पूर्ण खोप लगाएको पालिकाको सङ्ख्या सात पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका खोप अधिकृत पुष्पराज पन्तका अनुसार पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएका पालिकाहरुमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका छन् । अब फिक्कल र घ्याङ्लेख गाउँपालिकालाई मात्रै उक्त घोषणा गर्न बाँकी छ ।

बाँकी ती दुई पालिका पनि यही असारभित्रै घोषणा हुने तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । खोप अधिकृत पन्तले भन्नुभयो, "घरधुरी सर्वेक्षणदेखि गर्नुपर्ने सबै काम सकिएको छ । अब औपचारिक कार्यक्रम गरी घोषणा गर्न मात्रै बाँकी छ ।"

बालबालिकाले जन्मेको १५ महिनासम्म नियमित खोप लगाउनुपर्ने र १६ महिनादेखि ५९ महिनाभित्र सबै बालबालिकाले पूर्ण खोप लगाइसकेकाले ती पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको कार्यालयले जनाएको छ । 

कमलामाई नगरपालिका स्वास्थ्य शाखा प्रमुख केम थापाले नगरपालिकाभित्र जन्मेदेखि पाँच वर्षभित्रका चार हजार ८९८ जनाा सबै बालबालिकाले पूर्ण खोप लगाएकाले औपचारिक कार्यक्रम बीच ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा गत चैत/वैशाख महिनामा गरिएको घरधुरी सर्वेक्षणमा जन्मेदेखि १५ महिनासम्म नियमिति खोप लगाउने बालकालिकाको सङ्ख्या एक हजार ९६ छ । १० महिनादेखि ५९ महिनासम्म पूर्ण खोप लगाउने बालबालिका तीन हजार ७७२ छन् । खोप नै नलगाउने बालबालिका छ जना फेला परेका थिए। आंशिक खोप लगाउने बालबालिका २४ जना फेला परेका थिए ।

सबै बालबालिकालाई खोपको दायरामा ल्याई नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको उहाँले बताउनुभयो । कमलामाई नगरपालिकाभित्र अब कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको र मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेकै स्वास्थ्य भएको नगरप्रमुख उपेन्द्रकुमार पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, "आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपको दायरा बाहिर हुने छैनन् ।"