• १२ साउन २०८१, शनिबार

धनकुटा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

blog

कविराज घिमिरे 

हिले, असार २५ गते । धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । 

जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले मङ्गलबार धनकुटामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेकाे हाे । स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख योगराज घिमिरेले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो । 

धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जिल्लाका ७ स्थानीय तहका ० देखि १५ महिनाका २ हजार ४ सय २१ र १६ देखि ५९ महिनाका ६ हजार ६ सय ९३ गरि कुल ९ हजार १ सय १४ बालबालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो । 

एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । धनकुटा जिल्लालाई २०७१ पुस ३० गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै आइएको छ। यस घोषणाले नेपाल सरकारको पूर्ण खोप सुनिश्चित राष्ट्र बनाउने लक्ष्यलाई थप बल पुगेको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने सबै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।