• १२ साउन २०८१, शनिबार

जयन्दु बाल सुधार गृहमा फेरि विवाद : चार घाइते, दुई बालबन्दी फरार

blog

बाँकेको डुडुवा आसमानपुरमा रहेको जयन्दु बालसुधार गृह । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार २५ गते । 
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा फेरि बालबन्दीहरु बिच कुटपिट भएको छ । सो कुटपिटबाट  चार जना बालबन्दी घाइते भएका छन् ।

बालबन्दीहरु बिच सोमबार राती विवाद हुँदा ६५ जना बालबन्दी फरार भएका थिए । फरारमध्ये ६० जना बालबन्दी राति नै खोजी गर्दा सम्पर्कमा आएको र तीन जनालाई बिहान खोजेर ल्याइएको तथा दुई जना अझै फरार रहेको जयन्दु बालसुधार गृहका प्रमुख बिमला काउचामगरले बताउनुभयो ।

उहाँले खाना खाने विषयमा चौकीदार बालबन्दी र अन्य बालबन्दीबिच विवाद भएको थियो । सो क्रममा चार जना बालबन्दी मिलेर चौकीदारलाई कुट्न जाँदा उनीहरूबिच कुटपिट भएको प्रमुख काउचामगरले जानकारी दिनुभयो ।

सोही क्रममा ६५ जना बालबन्दी सुधार गृहबाट भागेको र सो क्रममा चार जना घाइते भएको सुधारगृहका उहाँको भनाइ छ । घाइतेमध्ये दुईजना सामान्य र दुई जनालाई अलि बढी चोट लागेको उहाँले बताउनुभयो । साथै भाग्ने क्रममा केही कैदीबन्दीको हात र औँलामा सामान्य चोट लागेको उहाँले बताउनुभयो ।

विवाद र कुटपिट गर्ने मध्येका ११ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तत्काल पुर्‍याइएको सो बालसुधार गृहले जनाएको छ । फरार भई अझै सम्पर्कमा नआएका दुई जनाको पनि खोजी तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

विभिन्न विषयलाई लिएर पटक–पटक बालबन्दीहरु बिच विवाद हुने गरेको सो बाल सुधार गृहमा गत वर्ष असोज ४ गते पनि विवाद भएको थियो । सो क्रममा रुपन्देही कन्चन गाउँपालिका ४ का सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना बालक घाइते भएका थिए ।

त्यसलगत्तै विवाद गर्नेहरूलाई त्यहाँबाट नौबस्ता कारागारमा सारिएको थियो । हाल आएर नौबस्ता कारागारमा रहेको बाल सुधार गृहमा ११३ जना बालबन्दी रहेको नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो । जयन्दु बाल सुधार गृहमा भने हाल २५९ जना बालबन्दी रहेको सो बाल सुधार गृहले जनाएको छ ।