• ८ मंसिर २०८१, शनिबार

बागमतीमा पाँच सयभन्दा बढीमा डेंगु पुष्टि

blog

काठमाडौँ, असार २५ गते । बागमती प्रदेशमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले बागमती प्रदेशमा ५०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।

इडिसिडीको तथ्याङ्क अनुसार हालसम्म कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहेक ७३ जिल्लामा एक हजार ४८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

कोशीमा ३५२, गण्डकीमा २२६, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १६१, मधेशमा ३८ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको छ ।  

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १६५, झापामा १२३ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ८६, मकवानपुरमा ६८, डोटीमा ४९, तनहुँ ५२, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ५०, भोजपुरमा ४६, भक्तपुरमा ३५ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनामा डेंगु सङ्क्रमण बढी पुष्टि हुने आङ्कलन गरेको छ ।

इडिसिडी अन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालले मनसुन बढेसँगै डेंगु सङ्क्रमणको जोखिमपनि बढ्दै जाने बताउनुहुन्छ ।

डा. दाहालका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरू दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन उहाँको सुझाव छ ।