• ३ असार २०८१, सोमबार

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न दललाई आयोगको आदेश

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तीन राजनीतिक दललाई निर्वाचन आयोगले सचेत गराउँदै अव उपरान्त त्यसो नगर्न आदेश दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानविन गर्दा आचारसंहिता विपरित काम भएको ठहर गरेको छ । गत शुक्रबारको निर्णयअनुसार आयोगले सो आदेश गर्ने निर्णय गरेको हो । 

आयोगको निर्णयमा भनिएको छ, “सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अव आइन्दा निर्वाचन आचारसंहिता विपरितका कामहरु नगर्न नगराउन निर्देशन दिई, सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने ।” 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । सो दलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचार प्रसार गरेको थियो । 

आदेशमा भनिएको छ, “जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु मनासिव विषय हो भन्न सकिदैन ।” त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्छ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासको रुपमा लिन सकिदैन आयोगले भनेको छ ।

सो कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन आयोगले निर्देशन दिँदै सचेत गराएको छ । 

सोहीअनुसार आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेकोभन्दै आयोगले सचेत गराएको छ । सो दलले गत चैत २७ गते मकवानपुरको हेटौडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको थियो । अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिई सो दलले आचारसंहिता उल्लङ्घनको कार्य गरेकोले सचेत गराउने आयोगको निर्णय छ ।

त्यस्तै, नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ । “कानूनी प्रावधान बमोजिम निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने निर्वाचन खर्चको अधिकतम हद तोक्ने व्यवस्था बमोजिम आयोगले २०७४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपियाँसम्म खर्च गर्न सक्नेगरी निर्वाचन खर्चको हद तोकेको” आयोगले जनाएको छ ।

“नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित  काँग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपियाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा  कोइरालाले उक्त निर्वाचनमा आफूले ६ करोड खर्च गरेको बताउनुभएको थियो ।

आचारसंहिताको मूल आधार माथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्वद्ध राजनीतिक दललाई जानकारी दिने आयोगले निर्णय गरेको छ ।

यसैबीच गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति उहाँले दिनुभएको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएको आयोगले जनाएको छ । अव आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त व्यहोराको जानकारी सम्बन्धित व्यक्तिलाई गराउने” आदेशमा भनिएको छ ।