• १६ भदौ २०८१, आइतबार

बाढीको वितण्डा

सयौँ परिवार विस्थापित

blog

धनगढी समाचारदाता

धनगढी, असार २५ गते  । सुदूरपश्चिमको तराई क्षेत्र बाढीले अस्तव्यस्त भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कञ्चनपुर र कैलालीमा वितण्डा मच्चाएको हो । 

अविरल वर्षापछि आएको बाढीले कञ्चनपुर र कैलालीका सयौँ घरपरिवार विस्थापित भएका छन् ।  

कञ्चनपुरमा महाकाली र चौधर नदीको बाढीले वितण्डा मच्चाएपछि ५११ परिवारका एक हजार ७३८ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लास्थित विपत् व्यवस्थापन समिति, सुरक्षा निकायलगायतको उद्धार टोलीले विस्थापितलाई सोमबार बिहानसम्म उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । त्यसअघि राति घरमा डुब्नै लागेका २९ जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “घर डुबेर छानामा बसेका २९ जनाको राति नै उद्धार गरेका छौँ । घरको छानासमेत डुब्न लागेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो ।” 

कञ्चनपुरमा विगतमा महाकाली र चौधर नदी किनारका बस्ती डुबान समस्या भोग्दै आएका थिए । यस पटक बाढी, डुबान समस्या फरक ठाउँमा देखिएको जोशीले बताउनुभयो । उहाँका अनुसार यसपालि, भीमदत्त नगरपालिकाको बजार क्षेत्र, सालघारी, भगतपुर, ऐठपुर, वेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिकाको कुतियाकबर क्षेत्रमा बढी डुबान समस्या भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “यो वर्ष अन्य क्षेत्रमा बढी समस्या देखियो ।” कञ्चनपुरमै चौधर नदीको बाँध फुटेर बेलडाँडी क्षेत्र जलमग्न भएको छ । यसै गरी दोदा नदीको बाढीले पुनर्बास नगरपालिकामा पनि कैयौँ घर डुबानमा परेका छन् । 

विस्थापितलाई राहत

कञ्चनपुरमा विस्थापित भएका र उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएका परिवारलाई खाना खुवाउनेदेखि लिएर राहत वितरण गर्न थालिएको छ । जोशीले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता सबैको उद्धार थियो । उद्धार गरेपछि अब राहत वितरण गरिरहेका छौँ ।” कञ्चनपुरमा पनि डुबानमा परेकाको रातभरि उद्धार गरिएको छ ।

कैलाली जलमग्न

मोहना, खुटिया, कान्द्रा, पथरैया, कर्णालीलगायतका नदीनालामा आएको बाढीले कैलाली पनि जलमग्न भएको छ । जिल्लाको पहाडी क्षेत्रबाहेक तराईस्थित ११ वटै पालिकामा डुबान भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । उहाँले धेरै घर डुबानमा परेको उल्लेख गर्दै भजनी नगरपालिकाका ८८ परिवार विस्थापित भएको जानकारी दिनुभयो । जिल्लास्थित डुबानग्रस्त भजनी नगरपालिकाका १ देखि ९ वडासम्मकै कतिपय परिवार विस्थापित छन् । कान्द्रा, पथरैया, मोहना र काँढा नदीको बाढीले डुबान भएपछि उनीहरू घर छाडेर हुलाकी सडक र सुरक्षित स्थानमा विस्थापित भएको भजनी नगरपालिकाका विपत् स्रोत व्यक्ति विष्णु न्यौपानेले बताउनुभयो । विस्थापित भएका अरू घर फर्किसकेको जनाइएको छ । 

कटैनी नदीको बाढीले कैलारी गाउँपालिका–५ स्थित मनिकापुर, बन्दरगौढी, वडा नं. ७ स्थित छटकपुर वसन्ता, वडा नं. ८ स्थित भङ्गहा खल्ला टोल डुबानमा परेको थियो । मनिकापुर र बन्दरगौढीका केही परिवार विस्थापित भएकोमा बाढी घटेपछि उनीहरू घर फर्केको कैलारी गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले जानकारी दिनुभयो । आइतबार राति कैलाली, कञ्चनपुरका सबै नदीले सतर्कता तह पार गरेका थिए । वर्षा रोकिएपछि सोमबारबाट नदीमा पानीको बहाव घटिरहेको जनाइएको छ । 

कृषि बालीमा  क्षति

बाढीले कञ्चनपुर र कैलालीमा कृषिलगायत विभिन्न क्षेत्रमा अत्यधिक क्षति गरेको छ । यसै गरी बाढीले पुल र कलभर्टसमेत बगाएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–७, सुडा चोकनजिकको कलभर्ट बगाएपछि पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । वैकल्पिक बाटोबाट सवारीसाधन ओहोरदोहोर भइरहेको जनाइएको छ ।

सुदूरपश्चिममा अत्यधिक वर्षा

टीकापुर समाचारदाताका अनुसार सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेलधुरा र डोटीमा अत्यधिक वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको दोधारामा भएको छ । दोधारामा सोमबार बिहानसम्म २४ घण्टामा ६२५.२ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरको हनुमाननगरमा ५६८ मिलिमिटर, सुन्दरपुरमा ४१९.२ मिलिमिटर, बेलौरीमा १५५ मिलिमिटर वर्षा भएको छ । कैलालीको चुरे गाउँपालिकास्थित गर्भादरबारमा २६७.६ मिलिमिटर वर्षा मापन भएको छ भने धनगढी एयरपोर्टमा १४१.८ मिलिमिटर वर्षा भएको छ । डडेलधुराको साहुखर्कमा २०४.६ मिलिमिटर र डोटीको गैरामा १८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, छ घण्टामा १०० मिलिमिटर, २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा बाढीपहिरो आउन सक्छ । देशका २६९ वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा धरै पानी परेको तथ्याङ्क छ ।

मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्ग एकै दिन ६२५ मिलिमिटर वर्षा हुनुलाई  अस्वाभाविक भन्नुहुन्छ । शुव्रmबारदेखि तीन दिनसम्म लगातार पानी परेपछि कर्णाली, महाकाली नदीमा बाढीको सतह बढेको थियो  ।

बाढीको त्रासले विद्यालयमा आश्रय 

बैतडी समाचारदाताका अनुसार शनिबारदेखि लगातार परिरहेको अविरल वर्षाका कारण सेती नदीको बहाव बढेपछि यहाँको सिगास गाउँपालिका–५, को ढुङ्गाड क्षेत्र बाढीको जोखिममा परेको छ । दशरथचन्द नगरपालिका पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा गरी छ वटा घर भत्किएका छन् । प्रभावितलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन । 

वर्षाले तराई पहाड जोड्ने भीमदत्त र जयपृथ्वी लोकमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गर्ने प्रयास जारी रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । सेती नदीको बाढी बस्तीमा पस्दा सिगास गाउँपालिका–५, ढुङ्गाडका ६० परिवारको घरखेत जोखिममा परेको छ । बाढीको उच्च जोखिममा परेका ३० परिवारले घर छाडेर विद्यालयमा आश्रय लिएका छन् । विद्यालयमा आश्रय लिइरहेका प्रभावित व्यक्तिका लागि ७० वटा त्रिपाल पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।  सेती नदीको बाढी बस्तीमा पस्दा सिगास गाउँपालिका–५, ढुङ्गाडका ३० परिवारले विद्यालयमा आश्रय लिइरहेको ढुङ्गाडस्थित शारदा माविका शिक्षक इन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा आश्रय लिन आउनेमा वृद्ध, अपाङ्गता भएका, महिला, बालबालिका र दीर्घरोगी रहेका छन् । बस्तीमा बाढी पसेपछि बाटु चुनारा झरीमा रुझ्दै केटाकेटीसहित विद्यालयमा आश्रय लिइरहनुभएको छ ।  “आश्रय लिएका केही व्यक्ति सोमबार बिहान घरखेतको अवस्था बुझ्न गाउँतिर गएका छन्,” उहाँले भन्नुभयो, “साँझ फर्किने गरेर आआफ्नो कोठा बन्द गरेर गएका छन् । अपाङ्गता भएका, वृद्ध र दीर्घरोगी भने विद्यालयमै छन् ।”   

बाढीको त्रासले स्थानीय वृद्ध शेर लुहार पत्नीसहित विद्यालयको कक्षाकोठामा बस्नुभएको छ । बस्तीमा बाढी पसेपछि विद्यालयमा आश्रय लिइरहेको अपाङ्गता हुनुभएका पदमा विकले बताउनुभयो । क्यान्सरपीडित केशरबहादुर चन्द विद्यालयमा ओत लागिरहनुभएको छ ।   सेती नदीको बाढीले बर्सेनि ढुङ्गाड क्षेत्रको खेतीयोग्य जमिन बगाइसकेको स्थानीय मीनबहादुर चन्दले बताउनुभयो । बाढीको त्रासले परिवारसहित गाउँ छाडेर तराई झरेको उहाँले बताउनुभयो । सेती नदीमा विसं २०७८ र २०७९ मा यहाँ आएको ठुलो बाढीले ढुङ्गाड क्षेत्रको बस्ती कटान सुरु गरेको  थियो । त्यसयता यो क्षेत्र हरेक वर्ष बाढीको जोखिममा पर्ने गरेको छ । बाढीले यहाँको करिब पाँच सय रोपनी खेतीयोग्य जमिन र सेती नदी तर्ने पुल बगाएको छ ।  

अविरल वर्षाका कारण सिगास गाउँपालिका वडा नम्बर ५, ६ र ७ मा सेती नदी किनार बस्तीका मानिसलाई सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।  

पहिरोको जोखिममा विद्यालय  

मार्तडी समाचारदाताका अनुसार बाजुराको बडीमालिका नगरपालिका–७ स्थित लक्ष्मी माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा छ । माथिबाट पहिरो बग्न थालेपछि विद्यालय उच्च जोखिममा परेको हो । भवनको डिलतर्फ खोलाले जमिन कटान गर्दै आएको र भवन माथिबाट पहिरो फुट्ने सम्भावना बढी छ । 

विगत लामो समयदेखि लक्ष्मी माध्यमिक विद्यालयले पहिरोको जोखिम मोल्दै आएको छ । पहिरोको बिच क्षेत्रमा विद्यालयको भवन छ भने चारैतिरबाट पहिरो जाने सम्भावना बढी भएकाले विद्यालयलाई वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था आएको स्थानीय नरबहादुर विकले बताउनुभयो । मार्तडी–कोल्टी सडकखण्डसँगै जोडिएको विद्यालयलाई पहिरोले ठुलो क्षति गर्नेे भएकाले वैकल्पिक उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो । करोडौँको लगानीमा निर्माण भएका संरचना पहिरोले बगाउने देखिन्छ यसले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या आउन नदिनका लागि वैकल्पिक योजना अपनाउनुपर्ने विकले बताउनुभयो ।

पहिरोले विद्यालय बगाउने हो कि भन्ने डरका कारण विद्यालय नै बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक लालचन्द्र जैसीले बताउनुभयो । उहाँका अनुसार विद्यालयको गेटमै पहिरो आइसकेको छ, माथि जमिन पूरै भासिएको र आकाशबाट पानी आइरहेको छ । यस कारण विद्यार्थीलाई खुला चौरमा पढाउन बाध्य भएको उहाँले बताउनुभयो । कक्षा १ देखि कक्षा १० सम्म सञ्चालनमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा पहिरो आउने डरका कारण विद्यार्थीकोे ध्यान नै पहिरोमा जाने गरेको प्रअ जैसीको भनाइ छ । पहिरोका कारण विद्यालय बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उहाँले बताउनुभयो । बर्खायामको समयमा लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीले शान्तिपूर्ण वातावरणमा पठनपाठन गर्न नपाएको, विद्यार्थीलाई आवतजावत गर्न झन् समस्या हुने गरेको विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष हिरेन्द्र विकले बताउनुभयो ।