• २० असोज २०८१, आइतबार

दुई सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण

blog

विद्यार्थीको निःशुल्क मुटु परीक्षण गर्नुहुँदै मुटुरोग विशेषज्ञ डा. विकास नेपाल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार २४ गते ।
नेपालगन्जका सामुदायिक विद्यालयका दुई सय विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।

बालबालिकाको मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचान गरी उपचारको पहुँचमा ल्याउने उद्देश्यका साथ विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरेर परामर्श सेवा प्रदान गरिएको हो ।

तेजस्वी हर्ट सेन्टर र लायन्स क्लब अफ नेपालगन्ज जीवनको संयुक्त आयोजनामा नेपालगन्जस्थित युद्ध संस्कृत माविका विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क मुटुको चेकजाँच तथा परामर्श सेवा प्रदान गरिएको हो ।

तीन दिनसम्म चलेको उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले विद्यार्थीहरुको मुटुको चेकजाँच गरेर विभिन्न परामर्श दिनुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपालले बालबालिकामा मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचानगरी उपचारको पहुँचमा ल्याउन यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने जानकारी दिनुभयो ।

विद्यालयका सबै दुई सय बालबालिकाको इको गरिएकोमा केहीमा मुटु बाथरोगको लक्षण देखिएको उहाँले बताउनुभयो । पाँच वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकाको इको गरिएको थियो ।

निम्न आयस्तर, गरीब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा यस खालको स्वास्थ्य सेवाले बालबालिकाहरुलाई ठुलो राहत मिलेको विद्यालयले जनाएको छ ।

डा.नेपालका अनुसार पछिल्लो समय मुटु बाथरोगको समस्या बालबालिकामा पनि धेरै देखिने गरेको छ । समयमै उपचार पाए निको हुने यो रोगको पहिचानमा अभिभावकहरुले समयमै चासो दिनुपर्नेमा उहाँको जोड छ ।

चिकित्सकहरुका अनुसार किशोरावस्थामा घाँटीमा हुने सङ्क्रमणलाई बोलीचालीमा टन्सिल भएको भनिन्छ भने त्यसको चिकित्सकीय नाम चाहिँ टन्सिलाइटिस हो । यो समस्या घाँटीको ग्रन्थीमा सङ्क्रमण भई सुन्निने, निल्न गाह्रो हुने, दुख्ने जस्ता यो समस्या ‘स्ट्रेप्टोकोकस व्याक्टेरिया’का कारणले हुन्छ ।

टन्सिलाइटिसको समयमा उपचार नभएमा मुटु बाथ रोग लाग्नसक्छ । समयमै राम्रो उपचार भयो भने त्यो समस्या त्यहीँ निको हुने चिकित्सकहरु बताउँछन् ।