• २० असोज २०८१, आइतबार

सुदूरपश्चिममा अत्यधिक वर्षा, दोधारामा २४ घण्टामा ६२५.२ मिलिमिटर वर्षा

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, असार २४ गते । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेलधुरा र डोटीमा अत्यधिक वर्षा मापन भएको छ । जल तथा मौसमविज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको दोधारामा भएको छ । जहाँ पछिल्लो २४ घण्टामा ६२५.२ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरको हनुमाननगरमा ५६८ मिलिमिटर, सुन्दरपुरमा ४१९.२ मिलिमिटर, बेलौरीमा १५५ मिलिमिटर वर्षा भएको छ । 

कैलालीको चुरे गाउँपालिकास्थित गर्भ दरबारमा २६७.६ मिलिमिटर वर्षा मापन भएको छ भने धनगढी एयरपोर्टमा १४१.८ मिलिमिटर वर्षा भएको छ । डडेलधुराको साहुखर्कमा २०४.६ मिलिमिटर र डोटीको गैरामा १८० मिलिमिटर वर्ष भएको छ ।

विभागका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, छ घण्टामा १०० मिलिमिटर, २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा बाढी पहिरो आउन सक्छ । देशका २६९ वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा धरै पानी परेको रेकर्ड छ ।

मौसमविज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्ग यस पटक कञ्चनपुरमा अस्वाभाविक वर्षा भएको बताउनुहुन्छ । शुक्रवारदेखि तीन दिनसम्म लगातार पानी परेपछि कर्णाली, महाकाली नदीमा बाढीको सतह बढेको थियो  भने साना नदीहरूमा पनि बाढी बढेको थियो । सोमबार बिहानबाट वर्षा रोकिएपछि नदीमा बाढी पनि घटिरहेको छ ।

कर्णालीमा बाढी घट्यो

कर्णाली नदीमा बाढीको सतह आइतबार राति १२ बजे १० मिटर ५ सेन्टिमिटर पुगेको थियो भने अहिले घट्दो क्रममा छ । कर्णाली नदीमा बाढीको सतह १० मिटर पुग्नुलाई चेतावनीको अवस्था र १० मिटर ८० सेन्टिमिटर नाघेमा तल्लो तटका लागि खतरा मानिन्छ । चिसापानीस्थित कर्णाली नदीका गेज रिडर पार्वती गुरुङले आइतबार बिहान साढे सात मिटर रहेको सतह दिनभरमा बढेर १० मिटर नाघेको हो । 

साँझ ६ः५० बजे कर्णालीमा बाढीको तह १० मिटर नाघेपछि तल्लो तटका मानिसहरूलाई सचेत गराउन मोबाइलमा सन्देश पठाइएको थियो भने प्रभावित क्षेत्रमा सतर्कता साइरन पनि बजाइएकाे थियाे । सोमबार बिहान ८ः०० बजे बाढीको तह ९.३५ मिटरमा झरेको छ ।

दुई जना बेपत्ता

कैलारी गाउँपालिका ९ गदरियाका १८ वर्षका अजय राना भुररा नदीमा डुबेर बेपत्ता हुनुभएको छ । आइतबार बेलुका साढे ४ बजेतिर नुहाउन नदीमा गएका बेला डुबेर बेपत्ता हुनुभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै बेलडाँडी गाउँपालिका ३ का २३ वर्षका डम्मर चौधरी चौदारा नदीमा माछा मार्न गएका बेला नदीले बगाएर बेपत्ता हुनुभएको छ । दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

तल्लो तटीय क्षेत्र भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाका डुबानमा परेका बस्तीका मानिसहरू सुरक्षित स्थान, उच्चा घर र हुलाकी राजमार्गमा बसिरहेका ती पालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्तिहरूले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाका सङ्कटासन्न बस्तीको पहिचान गरिएकाले त्यहाँ समस्या आएमा परिचालन हुन तोकिएका समुदाय, प्रहरी परिचालन भइरहेका छन् ।