• १२ साउन २०८१, शनिबार

उद्धार र राहतमा तदारुकता देखाउन निर्देशन

blog

गोदावरी समाचारदाता 

गोदावरी (कैलाली), असार २४ गते ।  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विपत्मा परेकालाई राहत र उद्धारका लागि उच्च सजगता अपनाउन निर्देशन दिनुभएको छ । विपत् व्यवस्थापन समितिको बैठकमा उहाँले सुरक्षा निकायलाई राहत र उद्धार कार्यमा तदारुकताका साथ लाग्न निर्देशन दिनुभएको हो । निरन्तरको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ । कैलाली र कञ्चनपुरका दर्जनौँ बस्ती डुबानमा परेका छन् ।

बैठकमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दार्चुलाको मालिकार्जुन, बैतडीको ढोल्यामोड, बझाङको तमैल, बाहुलीगाड, बुडर–जोगबुढा सडकको आलिताल र अछामको साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको जानकारी दिनुभयो । पहिरो तथा डुबानबाट मानवीय क्षति नभएको तर यथाशीघ्र पहिरो हटाएर सडक सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । डडेलधुराको रडुवामा खसेको पहिरो पन्छाइएकाले डडेलधुरा–डोटी सडक एकतर्फी सञ्चालनमा आएको छ । पहिरोको जोखिममा परेका २८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

दार्चुलाको मार्मा गाउँपालिका–२ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा, अछामको चौरपाटी गाउँपालिका–६ का नौ परिवार र मङ्गलसेन नगरपालिका–८ का नौ परिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी प्रदेश प्रहरी प्रमुख केसीले दिनुभयो । महाकाली, कर्णाली, मोहना, कन्द्रालगायतका नदीमा पानीको सतह बढ्दै गएको छ । नदी तटीय बस्ती जोखिममा पर्ने देखिएको छ । पहिरोका कारण पहाडी जिल्लामा सडक अवरुद्ध हुनुका साथै कतिपय बस्ती जोखिममा रहेका बताइएको छ । 

विपत्मा दुई हजार सुरक्षाकर्मी खटिँदै 

धनगढी समाचारदाताका अनुसार प्राकृतिक विपत्मा परेकाको खोज, उद्धार तथा पुनस्र्थापनाका लागि करिब दुई हजार प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । आवश्यक परेका बेला तत्काल परिचालन गर्न सकिने गरी यो जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्टले आवश्यकता अनुसार नेपाली सेना र सशस्त्र प्रहरी बलको पनि सहयोग लिन सक्ने गरी तयारी 

गरेको जानकारी दिनुभयो । अविरल वर्षाका कारण पहाडी जिल्लामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने र खुलाउने व्रmम जारी छ । केही ठाउँमा तीन दिनदेखि पहिरो खस्ने र त्यसलाई प्रहरीले पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो । पहिरो पन्छाएर सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको जनाइएको छ । 

बझाङस्थित श्रीभावर–चैनपुर सडकखण्ड र दार्चुलास्थित शैल्यशिखर र मालिकार्जुन गाउँपालिकाको सडकखण्डमा तीन दिनदेखि पहिरो खस्ने क्रम जारी छ । केआई सिंह राजमार्गस्थित रडुवामा पनि पटक पटक पहिरो खस्ने क्रम जारी छ । यस्तै डडेलधुरास्थित साहुखर्कमा पहिरो गएर यातायात सेवा अवरुद्ध भएको छ । सवारीसाधन गन्तव्यतर्फ पठाउन प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको जनाइएको छ । 

तराईमा डुबानको जोखिम

अविरल वर्षाका कारण कैलाली र कञ्चनपुरमा डुबानको जोखिम बढेको छ । महाकाली र कर्णाली नदीमा जलस्तर बढेकाले नदी तटीय क्षेत्रमा डुबानको जोखिम बढेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कैलालीको भजनी, जोशीपुर र कैलारी गाउँपालिकामा बाढीका कारण बस्ती डुबानमा परेका छन् । उहाँका अनुसार अस्तिको बाढीका कारण वडा नम्बर ५ का ३८ र ९ का २० घरपरिवार विस्थापित भएका छन् । 

पहिरो खस्दा एकको मृत्यु

अमरगढी समाचारदाताका अनुसार पहिरोमा परी परशुराम नगरपालिका–३, बुङाका ५६ वर्षीय नवराज पनेरूको मृत्यु भएको छ । लगातारको झरीले खानेपानीको मुहानमा क्षति पु¥याउँदा कतिपय स्थानमा खानेपानीको समस्या देखिएको छ । वर्षाका कारण तराई–पहाड जोड्ने महाकाली, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्ने सडकमा क्षति पुगेको छ । महाकाली राजमार्गको गन्यापधुरा गाउँपालिका–१, साहुखर्क र अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा यातायात अवरुद्ध छ । वर्षासँगै हावाहुरीका कारण किसानले लगाएको मकैमा क्षति भएको छ । आलिताल गाउँपालिकाका स्थानीय भीम खत्रीका अनुसार मकै ढलेका छन् । पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायतका अन्य खेतीपातीका बोटबिरुवा ढलेका छन् ।