• ४ जेठ २०८१, शुक्रबार

रियल स्पेनिस ला लिगा च्याम्पियन

blog

ला लिगा उपाधि सहित रियलका मार्सेलो । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १८ गते । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पान्योललाई ४–० गोलले हराउँदै रियल चार खेल अगावै च्याम्पियन बनेको हो । रियलको सानदार जितमा रोड्रिगोले दुई गोल गर्नुभयो । मार्को असेन्सियो र कप्तान करिम बेन्जेमाले एक एक गोल गर्नुभएको थियो । 

पाहुना टोलीलाई खेलभर दबाबमा राखेको रियलले ३३औं मिनेटमा खाता खोलेको थियो ।  रोड्रिगोले मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । 

दोस्रो हाफमा दुई गोल गरेको रियलका लागि असेन्सियोले ५५औं र बेन्जेमाले ८१औं मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाउनुभयो । रियलको यो ३५औं ला लिगा उपाधि हो । यस जितसँगै शीर्षस्थानमा रहेको रियलले ३४ खेलबाट ८१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ६४ अंक छ । पराजित स्पान्योल ३९ अंक सहित १३औं स्थानमा छ । एजेन्सी