• २० असोज २०८१, आइतबार

'विराट छेँ' उद्घाटन

blog

गोरखापत्र समाचारदाता

भक्तपुर, असार २३ गते । विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको भवन ‘विराट छेँ’ को उद्घाटन गरिएको छ । नेपाल भाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले मूलढोकामा लगाइएको प्राचीन ताला ‘माता:’ खोलेर भवनको उद्घाटन गर्नुभएको हो ।

विगत ६२ वर्षअघि स्थापना भएको यस गुथिले नेपाल भाषा, साहित्य, नेवा: संस्कृति र नेवा: अधिकारका लागि काम गर्दै आएको छ ।

यस्तै, कार्यक्रममा आय व्यय प्रतिवेदन सहितको ‘ह्याउँबाला अङ्क ३२’ शिक्षाविद्, समाजसेवी एवम् वरिष्ठ कथाकार हितकर वीर सिंह कंसाकारले लोकार्पण गर्नुभयो । कार्यक्रममा कवि योगेन्द्र प्रधानले वाक स्वतन्त्रता नभएको अवस्थामा स्थापना भएको संस्थाको आठौँ सम्मेलनमा कंसाकारलाई लामो समयसम्म हिरासतमा राखिएको स्मरण गर्दै उहाँ विराट गुथिको जिउँदो इतिहास भएको बताउनुभयो। 

गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन कार्यक्रममा नेवा: देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, सल्लाहकार त्रिरत्न शाक्य, नेपाल साहित्य मन्दिरका अध्यक्ष प्राज्ञ अगीव बनेपाली, सिद्धिदास प्रतिस्थानका अध्यक्ष नरेन्द्रभक्त हाडा, न्ह्यज्या खलः थिमिका दामोदर श्रेष्ठ, कृष्णभक्त बोडे, सुलोचना सैजू, प्रदीप शाक्य लगायतको उपस्थिति थियो । 

कार्यक्रममा भवन निर्माण समितिका संयोजक रामगोपाल चगुठी र प्रदीप रत्न शाक्यले जग्गा खरिददेखि हालसम्मको आय–व्ययका साथै बागमती प्रदेश सरकारको तर्फबाट १० लाख सहित जनताको सहयोगमा रु ४६,७४,६५५।९० को लागतमा भवन निर्माण भएको विवरण प्रस्तुत गर्नुभयो ।