• १९ असोज २०८१, शनिबार

चार लाख अवैध भारतीय रुपियाँसहित एकजना पक्राउ

blog

अवैध रकमसहित पक्राउ परेका व्यवसायी धिरेन्द्र सिजापति । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, असोज १९ गते। जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई करिब चार लाख अवैध भारुसहित पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार  नेपालगन्ज ४ स्थित धिरेन्द्र सिजापतिले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा भारतीय रुपियाँ पाँच सयका ६५० वटा नोट र दुई सयका ३१६ वटा नोट गरेर जम्मा तीन लाख ८८ हजार दुई सय भारतीय रुपियाँ फेला पारी सिजापतिलाई पक्राउ गरिएको हो।

उहाँले बरामद रकमसहित सिजापतिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको बताउनुभयो। 

नेपालगन्जका विभिन्न स्थानमा भारु र नेपालीको अवैध खरिद बिक्री भइरहेको जानकारी प्रहरीले पाएको जनाउँदै एसपी कार्कीले सो बारेमा अनुसन्धान गर्न प्रहरी टोलीलाई बजारमा खटाइएको बताउनुभयो। 

नेपालगन्ज र सीमा नाका पारी रुपैडिहामा अहिले दैनिक लाखौं रुपियाँको भारु र नेपालीको अवैध खरिद बिक्री हुने गरेको स्थानीय व्यवसायी र सर्वसाधारणले जनाएका छन्।