• १३ साउन २०८१, आइतबार

अविरल वर्षातले ठाउँ–ठाउँमा क्षति, जिल्लाभरका सडक अवरुद्ध

blog

वर्षातले जलमग्न माडीफाँट । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, असार २२ गते ।
 शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित बनेको छ । वर्षातले पहिरो खस्दा शनिबार बिहानैदेखि जिल्लाका राजमार्ग तथा सहायक मार्गहरू अवरुद्ध बनेका छन् । सिद्धार्थ राजमार्गको कालीमाटी, बर्तुङ्, राम्दी सितापहाड क्षेत्रमा पहिरो खसेको छ । पहिरोले शनिबार बिहानैदेखि यातायात अवरुद्ध बनेको छ ।

यस्तै, तानसेन तम्घास सडक खण्डको माल्मुल, जोर्ते र अर्गलीमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कालीगण्डकी कोरिडोरअन्तर्गत पिपलडाँडा–रामपुर खण्डको असर्दी नजिकै पहिरो खसेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, हार्थोक–बतासे–छहरा सडक खण्डको रिव्दीकोट–४, हटियामा पहिरो खसेको छ । सो सडक खण्डको अन्य क्षेत्रमा पनि पहिरो खसेको छ । आर्यभाङ्ज्याङ्–रामपुर सडक खण्डको रम्भा–५, काउलेपानी नजिकै पहिरो खस्दा सडक बिहानैदेखि अवरुद्ध बनेको छ । यस्तै ग्रामीण भेगका सडक समेत अवरुद्ध बनेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

सवारीसाधनमा क्षति

वर्षात्ले सडकमा गुडेका र रोकी राखेका सवारीसाधनमा क्षति पुर्‍याएको छ । पाल्पाको रिव्दीकोटमा ना ६१ प ८५८४ र लु २१ प ५६३२ नम्बरको मोटरसाइकल पहिरोले पुरेको छ । यस्तै पाल्पाबाट बुटवलतर्फ कुखुरा लिएर गएको लु १ च ६३२५ र लु ३ च ३१५० नम्बरको बलेरो जिप माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पशुचौपाया मरे

कतिपय स्थानमा पहिरोका कारण पशुचौपाया मरेका छन । शनिबार बिहान जिल्लाको रामपुर–९, मधुकोटका कमलबहादुर साठीघरेको गोठमा पहिरो खस्दा एक भैँसी, तीन बाख्रा मरे भने साठीघरेको गोठ पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै रिव्दीकोट मालमुलकी मिना विकको एकतले कच्ची घर र गोठमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

दुई जना घाइते

यस्तै रम्भा–२ फोक्सिङ्कोटको वडा कार्यालयमाथिबाट रुख ढल्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रम्भा–३, का १९ वर्षीय शिव गाहा र इन्द्र राना रहनुभएको छ । घाइते दुबैजनाको अवस्था सामान्य रहेको स्थानीय बासिन्दाले बताएका छन् । रुखले वडा कार्यालय र शौचालयमा क्षति पुर्‍याएको छ । यस्तै पाल्पाको माडीफाँट डुबानमा परेको छ ।

माडीफाँट डुबानमा

अविरल वर्षातका कारण तानसेन–९, माथागढी–३, बगनासकाली–१ र २ स्थित माडीफाँट डुबानमा परेको छ । डुबानमा परेपनि सयौँ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । जिल्लाको अन्य स्थानको क्षतिको विवरण भने आउन बाँकी रहेको छ । तिनाउ नदीले धार परिवर्तन गरेर धान खेतमा पस्दा सयौँ हेक्टर जमिन जलमग्न बनेको छ ।