• १९ असोज २०८१, शनिबार

विगेन नेपालको सेवाले सार्थकता पाओस् : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विगेन नेपालको १०औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्नुहुँदै ।

काठमाडौँ, असार २२ गते । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको सेवाले सार्थकता पाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।

विगेन नेपालको १०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले विगेन नेपालको आगामी यात्रा अझ प्रभावकारी हुन सकोस् र सेवा भावले सार्थकता पाओस् पाउने अपेक्षा गर्नुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले चाबहिलमा रहेको सार्वजनिक सेवा केन्द्रमा गएर विगेन थेरापीको सेवा आफूले पनि लिएको जानकारी गराउनुभयो ।

असार २१ गते शुक्रबार स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र गोदावरीमा विगेन नेपालले १०औँ वार्षिकोत्सव समारोह मनाएको हो । समारोहलाई उपप्रधानमन्त्री श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।


२०७२ सालमा स्थापना भई माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ ।

विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अङ्गहरूको प्रभावकारी उपचार प्रदान गर्दछ । विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरूमार्फत तराईदेखि हिमालय क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्यापिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावारी समस्याबाट पीडितहरूलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।


विगेन नेपालले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने चिकित्सक, कलाकार, सञ्चारकर्मी, सामाजिक र सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई अभिनन्दन गरेको छ । वार्षिकोत्सव समारोहमा वरिष्ठ राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ गायककार मुरलीधर र वरिष्ठ सञ्चारकर्मी ऋषि धमलालगायतलाई प्रशंसापत्रसहित अभिनन्दन गरिएको छ । त्यस्तै, कोरियन मेडिकल ग्रुपका ग्लोबल अध्यक्ष श्रीमती चुङ सिंग्जा हुन पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । वार्षिकोत्सव समारोहमा करिब ६० जना ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो ।  वार्षिकोत्सव समारोहमा विगेन थर्मल थेरापी सेवा लिइरहेका पाँच हजारभन्दा धेरैको सहभागिता रहेको थियो ।

विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सबै आमाबाबुलाई आफ्नै सम्झेर सेवा प्रधान गरेको बताउनुभयो । उहाँले सेवामार्फत देशभर हजारौँ आफन्त कमाएको स्मरण गर्नुभयो । उहाँले देशमा नै बसेर सेवामुखी काम गर्नुपर्छ भनेर विगेन थेरापी सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । देशभर १५ लाखभन्दा धेरैलाई सेवा दिइसकिएको जानकारी उहाँले दिनुभयो ।


नेकपा (एमाले) का नेता तथा सांसद एलपी साँवा लिम्बुले नेपालमा केही हुँदैन भनेर बिदेसिनेको लर्को चलिरहेको अवस्थामा विगेन नेपालले प्रशंसनीय काम गरेको बताउनुभयो । यसले नेपालको विकासमा टेवा पुर्‍याउने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले एक जना व्यक्तिको पहलमा देशभरमा विगेन थर्मल थेरापी उपचार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

पत्रकार ऋषि धमलाले विगेन नेपालका अध्यक्ष श्रेष्ठले समाज सेवा के हो भन्ने कुरा प्रमाणित गरेर देखाएको बताउनुभयो । मानिसको जीवनमा सबैभन्दा ठुलो धन स्वास्थ्य रहेको बताउँदै पत्रकार धमलाले विगेन नेपालले धेरैलाई स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो ।