• १३ साउन २०८१, आइतबार

राप्ती नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा सूचना जारी

blog

राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु पार गर्‍यो । तस्बिर : सिराज खान


सिराज खान
नेपालगन्ज, असार २२ गते । 
दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ । 

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु ६ मिटर पार गरिसकेकाले नदी वरिपरिका बाँकेका दर्जनौँ गाउँ बस्ती बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

शनिबार दिउँसो १२ बजे राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु पार गरेर ६ मिटर ४० सेन्टिमिटर पुगेको र अझै बढ्दै गएकाले जिल्लाका धेरै गाउँ बस्ती जोखिममा पुगेको उहाँले बताउनुभयो ।

सोही कारणले जोखिम हुन सक्ने सबै ठाउँमा स्थानीयलाई अलर्ट गरेर स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार कसुममा पानीको सतह सात मिटर पुगेपछि जिल्लाका धेरै ठाउँ डुबान र बाढीमा पर्ने हुँदा सबैलाई अलर्ट गरेर तयारी अवस्थामा राखिएको छ ।

दाङ, रोल्पा, प्युठानमा लगातार केहीदिनदेखि पानी परेकाले नदीको सतह बढ्दै गएको हो । शनिबार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको समितिले जनाएको छ ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो ।

राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ६ मिटर पुग्ने बित्तिकै सतर्कता स्वरूप नदी छेउछाउमा अलर्टको साइरन बजाइन्छ । नदीको सतह ७ मिटर सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनि डुबानमा पर्दै आएका छन् ।

नदीको सतह बढेर ६ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरूमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।

उहाँले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ रिजालले बताउनुभयो ।